एटुजेड समाचारद्वारा आयोजित आर्टिकल प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न

चितवन,७ असोज । एटुजेड समाचार डटकमद्वारा आयोजित तिज बिशेष आर्टिकल प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आज (शनिबार) भरतपुर स्थित जिल्ला समन्वय समितीको सभाहलमा “तीजको साँस्कृतिक महत्त्व र यसको प्रभाव ” बिषयक आर्टिकल प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त आर्टिकल प्रतियोगितामा पत्रकार सुजिता हमाल प्रथम भएकी छन् । प्रथम भएसंगै उनले नगद २० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै पत्रकार प्रतिमा सिलवाल द्वितीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाण पत्र प्राप्त गरेकी छन् ।
त्यस्तै पत्रकार सुनिता सुवेदी तृतीय भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने केशु लामिछाने सान्त्वना भएकी छन् । उनले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।

कार्यक्रममा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरि पुरस्कृत गरिएको हो ।
आर्टिकल प्रतियोगितामा २४ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि सबै महिला पत्रकारहरुलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथी पत्रकार महासंघका अध्यक्ष नारायण अधिकारी रहेका थिए । उनले महिला पत्रकारलाई सम्मान गर्दै चितवनमा नै पहिलो पटक यस्तो खालको प्रतियोगिता आयोजना गरेको भन्दै आयोजक टिमलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रमका सभापती एवम् एटुजेड समाचारका अध्यक्ष किशोर सापकोटाले चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार सञ्चारकर्मीहरूलाई पुनः चितवन संग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको बताए ।

साथै उनले उक्त आर्टिकल लेखन कार्यक्रममा सहभागी हुने सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा विशिष्ट अतिथी पत्रकार महासंघ चितवनका उपाध्यक्ष प्रकाश ज्ञवाली, नेपाल प्रेस युनियन चितवन अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघका चितवनका सचिव दीपेन्द्र अधिकारी लागायतले बोलेका थिए भने कार्यक्रम सन्चालन बाल गोबिन्द न्यौपानेले गरेका थिए ।

प्रतिकृया दिनुहोस