आज विश्व मुस्कान दिवस

काठमाडौँ,१९ असोज । आज विश्व मुस्कान दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरुआत गरिएको हो ।

“सुन्दर र आकर्षक देखिन कसलाई मन हँुदैन ?” विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भन्नुहुन्छ, “उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।”

मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ । उहाँका अनुसार मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ ।

“मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी”, मनोविद् बिजुक्छेले भन्नुभयो, “मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।”

कसैले सोध्न सक्छ , तपाई हामीमा के चाहि यस्तो चिज छ, जसले सजिलै अरुलाई आकर्षित गर्न सक्छ ? त्यो चिजले हाम्रो मनोभाव हाम्रो व्यक्तित्वलाई दर्शाउने गर्दछ । यसमा धेरै सोच्नै पर्दैन , यो चिज हाम्रो मुस्कान हो । कुनै पनि औपचारिकता र मजबुरीबाट मुक्त हाम्रो मिठो मुस्कान । मुस्कान हाम्रो मनबाट निस्किएको एउटा यस्तो भाव हो जसले हाम्रो वरिपरिको मानिसलाई पनि खुशी तुल्याउँछ र सबैलाई आफूतर्फ आकर्षित गर्छ । मुस्कान दिवसले सबैलाई हाँसी खुशी बाँच्न प्रेरित गरोस् ।

प्रतिकृया दिनुहोस