यस वर्षको तिहारका पाँच दिनमा कुन दिन के को पूजा गरिँदैछ ?

काठमाडौं, २१ कात्तिक । यो वर्षको तिहार पर्व कात्तिक २५ गतेदेखि सुरु हुँदै छ । तिहारका जम्मा पाँच दिन हुन्छ । जसलाई यमपञ्चकका पाँच दिन भनिन्छ ।

कात्तिक कृष्णपक्षको त्रयोदशीदेखि यसै महिनाको शुक्लपक्षको द्वितीयासम्मका पाँच तिथिलाई यमपञ्चक भनिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

‘यो वर्ष, २०८० सालमा कात्तिकको २५ गते शनिबार त्रयोदशी तिथि छ, सूर्योदयकालमा । त्यसको भएकाले पहिलो तिहारको दिन यही भयो, जुन दिन यमराजको दूतको रूपमा हामीले कागको पूजा गर्छौँ’, उनले भने, “हामी प्रकृतिको पुजारी हौँ र कागको पूजा गर्छौँ, यही दिन ।”

कात्तिक २६ गते कुकुरपूजा, सोही दिन दिउँसो २ बजेपछि औँसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीको पूजा–आराधना गरिने उनले बताए ।

‘औँसी तिथि जुन दिन पर्छ, साँझ र अर्धरात्रिकालमा, त्यही दिन लक्ष्मीपूजा गर्नुपर्छ । २६ गते आइतबार दिउँसो २ बजेपछाडि औँसी तिथि लाग्ने भएको हुनाले बिहान कुकुरको पूजाहरू गरेर साँझदेखि नै लक्ष्मीको पूजा–आराधना गरिन्छ’ उनले भने, ‘साँझमा लक्ष्मीलाई भित्र्याउने, पूजा गर्ने गरिन्छ । कसैले अर्धरात्रिकालमा पनि पूजा गर्छन् । तर, लक्ष्मीको साँझमा भित्र्याएर अलक्ष्मीलाई चाहिँ राति १२ बजे बहिर्गमन गराउने हो ।’

कात्तिक २७ गते गाई तिहार, २८ गते बिहान गोवर्धन पूजा गरिन्छ, सोही दिन गोरुपूजा गरिन्छ । कात्तिक २८ गते नै नेवार समुदायले म्हःपूजा र सोही दिन बेलुका बलिको पूजा पनि गरिन्छ । उक्त दिन हली तिहारका रूपमा पनि प्रसिद्ध रहेको उनले बताए ।

सोही दिनदेखि नेपाल संवत् ११४४ सुरु हुने उनले जानकारी दिए । यो वर्ष कात्तिक २९ गते भाइटीका परेको छ । कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तमसाइत रहेको उनले बताए ।

तिहारका जम्मा पाँच दिन हुन्छ । जसलाई यमपञ्चकका पाँच दिन भनिन्छ । कात्तिक महिनाको कृष्णपक्षको त्रयोदशी तिथिदेखि लिएर कार्तिक महिनाको शुक्लपक्ष द्वितीयासम्मका पाँचवटा तिथिलाई यमपञ्चक भनिन्छ ।

प्रतिकृया दिनुहोस