कार्तिक शुक्ल पूर्णिमा: गुरु नानक जयन्ती विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ,११ मंसिर । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । 

गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उहाँले शिख धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गर्नुभयो । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् उहाँले गराउनुभयो । 

गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी नानक  जन्मजयन्ती मनाइने जनाइएको छ ।
 
यस दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गर्नुभएको थियो ।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले समाज सुधारक धार्मिक गुरु ‘गुरुनानक’ ले समाजमा विद्यमान जातीय एवं लैङ्गिक विभेदका साथै अन्धविश्वास र कुरीतिका विरूद्ध मानिसलाई सचेत गराउन खेल्नुभएको भूमिका सदैव स्मरणीय रहेको बताउनुभएको छ । 

सिख धर्मावलम्बीको विशेष पर्व गुरुनानक जयन्तीको अवसरमा आज उहाँले जारी गर्नुभएको सन्देशमा विश्वभर छरिएर रहेका सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । “गुरुनानकले स्थापित गरेका सामाजिक न्यायका मार्गदर्शनको अवलम्बन गर्न सकिएमा समाजमा शान्ति स्थापना भई आपसी सद्भाव, भाइचारा, सहिष्णुताका साथै सामाजिक न्याय प्रगाढ हुने र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन बल पुग्ने मैले विश्वास लिएको छु ।”–सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

समाजमा विद्यमान सबै प्रकारका विकृति र विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता तथा भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास पनि राष्ट्रपति पौडेलले गर्नुभएको छ । गुरु नानक जन्मजयन्ती हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा सिख धर्मावलम्बीले भक्तिभावका साथ मनाउने गर्दछन् ।

प्रतिकृया दिनुहोस