‘नरकान्त राष्ट्रिय योग पुरस्कार’ योग गुरु एवं कवि हरिप्रसाद पोखरेललाई

काठमाडौं । योग गुरु एवं प्राकृतिक स्वास्थ्यका ज्ञाता तथा कवि डाक्टर हरिप्रसाद पोखरेल (मानसाग्नी) लाई 'नरकान्त राष्ट्रिय योग पुरस्कार' प्रदान गरिएको छ ।

पूर्व प्रशासक नरकान्त अधिकारीका नाममा स्थापित उक्त पुरस्कार पहिलो पटक डा. पोखरेललाई प्रदान गरिएको हो । सर्वोदय सेवाश्रम लाजुङले स्थापना गरेको उक्त पुरस्कार काठमाडौंमा आयोजित एक कार्यक्रममा शिक्षाविद प्रा.डा.सुरेशराज शर्माले डा. पोखरेललाई प्रदान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि डा. शर्माले योग शिक्षामा डा. पोखरेलले अतुलनीय योगदान गरेका कारण संस्थाले अत्यन्तै योग्य व्यक्तिलाई छनोट गरेको बताए । उनले योगलाई नेपाल सरकारले महत्वका साथ विद्यालय र विश्वविद्यालयहरुमा पढाउनु पर्ने बताए । डा. पोखरेलकै पहलमा नेपालमा योग शिक्षा सुरु भएको डा. शर्माले बताए ।

यस्तै पुरस्कृति व्यक्तित्व डा. पोखरेलले प्राचीन युगमा नेपालबाटै योगको थालनी भएका कारण योग विद्यालाई नेपालले आफ्नो गौरव ठान्नु पर्ने बताए । उनले नागरिकलाई नैतिक , सदाचार , सफल अनि असल बनाउनका लागि पनि सरकारले योग शिक्षालाई जोड दिनु पर्ने बताए ।

साहित्य र साधनामा मानसाग्नीका नामबाट प्रख्यात उनका साहित्य , योग र आचरण लगायत विविध विधाका ३९ वटा पुस्तक प्रकाशित भएका छन् ।

कार्यक्रममा सेवाश्रमका अध्यक्ष कृष्ण ओलियाले डा. पोखरेलकै प्रेरणबाट आफु जेष्ठ नागरिकको सेवामा लागेको बताए । उनले सेवाश्रमले जेष्ठ नागरिक र योगका बारेमा लामो समय देखि काम गर्दै आएको बताए ।

उक्त पुरस्कारका लागि नरकान्त अधिकारीका छोरा रमाकान्त अधिकारी, शारदाकान्त अधिकारी , छोरी बेत्रा अधिकारी केसी ले रु दशलाख पच्चिस हजार अक्षयकोष सर्बोदय सेवाश्रममा राखिदिएको जानकारी सेवाश्रमका अध्यक्ष ओलियाले दिए । कोषमा जम्मा भएको रकमको वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट पुरस्कार प्रदान गरिने अध्यक्ष ओलियाले बताए । कान्तिपुर अनलाईनबाट

प्रतिकृया दिनुहोस