मकर स्नान महोत्सवको तयारी अन्तिम चरण

देवघाट,२५ पुस । भरतपुर महानगरपालिका-१ देवघाट चितवन स्थित रहेको एक मात्र संस्कृत विद्यालय श्री सीताराम सँस्कृत माध्यमिक विद्यालयद्वारा आयोजना गरिएको मकर स्नान महोत्सवको तयारी अन्तिम चरण पुगेको छ ।

वि.स. २०३५ सालमा ब्रहमलीन बाबा डिल्लीराम ब्रहमचारीद्वारा संस्थापित कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत शिक्षा पढाइ हुने चितवन जिल्लाकै गौरवको रूपमा रहेको एकमात्र सामुदायिक विद्यालय हो । विद्यालयको २ करोडौंको अक्षयकोष स्थापना तथा विद्यालयको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको विद्यालयका पूर्व प्रधानाध्यापक एवं महोत्सव मुल संयोजक हरि प्रसाद आचार्यले बताउनु भयो । साथै आचार्यले पौष २७ गतेदेखि माघ २ गतेसम्म लाग्ने उक्त मकरस्नान महोत्सव तथा महायज्ञको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी दिनु भएको थियोे ।

साथै विद्यालयको हरेक गतिविधिलाई अगाडि बढाउन पूर्व विद्यार्थीहरूको ठुलो हात रहने बताउदैँ हाल विद्यालयको अक्षयकोष स्थापना कार्यक्रमलाई समेत पूर्व विद्यार्थीहरू बाट ठुलो साथ सहयोग पाउने अपेक्षा राखेर अगाडी बढेको संयोजक आचार्य बताउनुभयो । मकरस्नान महोत्सवको पुर्व सन्ध्यामा भोलि २६ गते दिउँसो १ बजे देवघाटधाम बाट दासढुङ्ग,जुगेडी,रामनगर हुँदा कार्यक्रम स्थल सम्म बाइक र्‍यालीको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले जानकारी दिनुभयो । यहीँ पौष २७ गते विहान ८ बजे कलशयात्रा पश्चात् ११ बजे महोत्सवको उद्घाटन गर्ने समेत पौडेलले जानकारी भयो ।

त्यस्तै गरि महोत्सवको पहिलो दिन शोभा यात्राको लागि तनहुँतर्फ मिठु पौडेल र चितवनतर्फ़ सावित्री टण्डनको संयोजक रहेको छ । आर्थिक संयोजकमा रोशन श्रेष्ठ,मंच तथा पण्डाल व्यवस्थापनमा खोटराज घिमिरे,अतिथि सत्कार संयोजकमा बसुन्धरा पौडेल,मुद्रण व्यवस्थापन संयोजक रत्न कंडेल,भान्छा तथा जलपान उपसमितिमा बिष्णु सापकोटा,आवास व्यवस्थापन संयोजक फुलनात न्युरे,मालाखादा तथा सम्मान उपसमिति संयोजक मिलन घिमिरे,बिजुली तथा पानी व्यवस्थापन उपसमिति संयोजक माधव प्रसाद चापागाईं तथा विवेक तिवारी,संचार संयोजकमा बिकास ढकाल गरि विभिन्न कामहरूलाई संयोजक र उप-संयोजक गरि समिति गठन गरिएको छ ।

त्यस्तै गरि पौष २८ गते अखण्ड श्रीमद्भागवत पाठ पारायण,७:३० बजे पुजा आरती,१२ बजे कथाप्रवचन दातासम्मान,६ बजे पूजा आरती भक्तिसङ्गीत, माघ १ गते विहान ७:३० बजे पूजा आरती,८ बजे तिलार्पण,९ बजे सामुहिक व्रतबन्ध आरम्भ,१२ बजे कथाप्रवचन दाता सम्मान र ५ बजे लक्ष्यवर्ती प्रज्वलन हुने छ भने माघ २ गते ७:३० बजे पूजा आरती हुने,१२ बजे कथाप्रवचन दातासम्मान पश्चात् महायज्ञको समापन हुन्छ । आज भएको सो बैठकमा महोत्सवको लागि आर्थिक सहयोग समेत संकलन गरिएको थियोे ।

साथै सो बैठकमा देवघाट क्षेत्र विकास समितिका पूर्व एवं महायज्ञको प्रमुख सल्लाहकार अध्यक्ष टंकनाथ पौडेलले विद्यालयलाई सहयोग गर्नु अति पुन्य काम हो भन्दै सबैसबैलाई आर्थिक सहयोगको लागि अनुरोध गरेका थिए । सो बैठकमा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल,प्रा.डा.गुरु प्रसाद सुवेदी,महेश संन्यास आश्रमका प्राचार्य फणीन्द्र प्रसाद पौडेल,पूर्व विद्यार्थी लक्ष्मण भण्डरी लगाएत विभिन्न बुद्धिजीवी व्यक्तिहरूले आफ्नो भनाइ राखेका थिए । सो महायज्ञ त्रिशूली कालीगण्डकी वेणीसंगममा हुने भएको छ ।

प्रतिकृया दिनुहोस