आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईदै

काठमाडौं,२७ पुस । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

१७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा मान्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौविसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गर्नुभएको थियो । यहि योगदानको कदर गर्दै २७ पुसलाई पृथ्वी जयन्तीका रुपमा मनाउने गरिएको छ ।

यस वर्ष पृथ्वीनारायणको ३०२ औँ जन्मजयन्ती मनाउन लागिएको हो । इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।

२००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२/०६३ सालको आन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको थियो ।

प्रतिकृया दिनुहोस