देवघाटमा कर्मकान्ड गर्न पण्डितलाई परिक्षा

देवघाट,२२ माघ । देवघाटधाममा कर्मकान्ड गर्ने पन्डित (पुरोहित) हरुलाई परिक्षा लिईएको छ । देवघाट क्षेत्र विकास समितिले बेणी संगममा चितवन तर्फ बसेर कर्मकान्ड गर्नकोलागि पण्डितहरुलाई मौखिक परिक्षा लिएको हो ।

परिक्षामा उनीहरुको प्रस्तुतीको आधारमा कर्मकान्ड गर्ने प्रमाणपत्र दिईने क्षेत्र विकास समितिले जनाएको छ । पन्डितहरुको प्रस्तुतीको आधारमा उनीहरुले गराउने कर्मकान्डको प्रकारको प्रमाणपत्र लिईने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । पण्डितहरुले प्रमाणपत्रमा उल्लेख बाहेकको अन्य कार्य गरेको भेटिए कारवाही गरिने कार्यकारी निर्देशक बरालले बताए ।

देवघाटधाममा बस्ने पण्डितहरुले विधि नपुर्याइ कर्मकान्ड लगायतका धार्मिक काम गरेको गुनासो आएपछि क्षेत्र विकास समितिले परिक्षा लिएको हो । साथै देवघाटका पण्डितहरुले भक्तजनसँग धेरै रकम असुलेको गुनासो आएपछि त्यस्तो कार्यलाई नियमन गर्न पनि परिक्षा लिईएको समितिले जनाएको छ ।

देवघाट आउने भक्तजनहरुले नदी किनारमा बस्ने पण्डितहरुको प्रमाणपत्र हेरेर मात्र आफ्नो कर्मकान्ड गराउन क्षेत्र विकास समितिले अनुरोध गरेको छ । समितिले उनीहरुलाई श्राद्ध, ब्रतबन्ध, लक्ष्वर्ती, सत्यनारयण पुजा लगायत धार्मिक विधिकोलागि मौखिक परिक्षा लिएको थियो ।

पण्डित परिक्षा समितिका संयोजक तथा विज्ञ एवं सिताराम संस्कृत मावि देवघाट चितवनका सहायक प्राचार्य अर्जुन पाण्डेयले सबै विधि नजानेका पण्डितहरुबाट धेरै भक्तजन ठगिएको र विधि नपु¥याई कर्मकान्ड हुने गरेको जनगुनासो आएपछि त्यसलाई व्यवस्थित गर्न परिक्षा लिईएको बताए ।

पाण्डेयका अनुसार उक्त परिक्षामा ९ जना पण्डित सहभागी भएकोमा एक जनाले मात्रै कर्मकान्डका सबै विधि गर्न पाउने गरि उत्तिर्ण भएका छन् भने बाँकी मध्ये केहीले श्राद्ध मात्रै, केहीले ब्रतन्बन्ध मात्रै गराउन पाउने प्रमाणपत्र पाउनेछन् ।

कर्मकाण्ड सनातन वैदिक संस्कृतिको अभिन्न अंग हो । हिन्दू धर्मका कुनै पनि उत्सव पूजापाठ एवं कर्मकाण्डविना पूर्ण हुँदैनन् । योग्य पुरोहितविना कर्मकाण्ड सम्पन्न हुन सक्दैन । कर्मकाण्ड गराउने पुरोहित कस्तो हुनुपर्छ भनेर शास्त्रले बताएको छ । शास्त्रअनुसार अयोग्य आचार्य तथा पुरोहितले गराएको कर्मकाण्ड निष्फल हुन्छ भने शास्त्रोचित पुरोहितद्वारा गराइएको कर्मकाण्डले इच्छित सफलता सुनिश्चित गराउँछ ।

शास्त्रअनुसार तिलक, शिखा एवं जनै लगाउने, त्रिकालसन्ध्या गर्ने, नियमित गायत्री जप गर्ने तथा शुद्ध रूपले मन्त्रोच्चारण गर्ने ब्राह्मण पौरोहित्यका लागि उत्तम मानिन्छ ।

प्रतिकृया दिनुहोस