बालिकाहरूको सहयोगार्थ महायज्ञ सुरु नहुँदै उठ्यो ३५ लाख

काठमाडौँ,२६ माघ । श्री गार्गी कन्या गुरुकुल सञ्चालन सहयोगार्थ गार्गी गुरुकुल प्रतिष्ठानद्वारा सञ्चालन हुन लागेको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ २०८० को आयोजक समितिको छलफलमा नै ३५ लाख सहयोग नगद रकम उठेको छ ।
 सो कार्यक्रममा हालसम्म यज्ञ अगावै रकम सहयोग गर्ने दाताहरूको नामावली पनि वाचन गरिएको थियो ।

 यज्ञका लागि रकम सहयोग गर्नेहरूमा विजया गोयल १० लाख, भगवती उपाध्याय ५ लाख, रिलायबल नेपाल लाइफ ईन्सोरेन्स बाट रु ५ लाख, शिखर इन्स्योरेन्स रु ३ लाख, सन नेपाल लाइफ ईन्स्योरेन्स २ लाख, लक्ष्मी.बैक बाट २ लाख, समाजसेवी महेश कुमार द्दार १ लाख १ हजार १ सय ११, सुशीला कोइराला १ लाख, शाश्वत ढुङ्गेल र सोनाली काफ्ले ढुङ्गेल दम्पती १ लाख ५० हजार, निर्मला पोख्रेल १ लाख ११ हजार, मन्दिरा पौडेल ५० हजार, कल्याणी काफ्ले ५० हजार,इन्दिरा मल्ल १० हजार सहयोग रकम जुटेको छ ।

 बालिकाहरूलाई संस्कारसहितको वैदिक शिक्षा प्रदान गरी सच्चरित्र बत्ती विदुषी नारी शक्ति उत्पादन गर्ने पुण्य उद्देश्यका साथ नारायणीको पावनतट देवघाट धाममा सञ्चालित नेपालको पहिलो र समावेशी गुरुकुललाई निरन्तर सञ्चालनमा आर्थिक अभाव नहोस् भन्ने उद्देश्यका साथ अक्षयकोषको स्थापनार्थ सो महायज्ञ गर्न लागिएको महायज्ञ मूल समारोहका संयोजक डा. गोविन्द टण्डनले बताउनुभयो ।

 उहाँले आगामी फागुन १ गतेदेखि ९ गतेसम्म पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा उक्त सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको काठमाडौँमा आज बसेको बैठकमा जानकारी दिनुभयो । साथै उहाँले महायज्ञ सफल बनाउन ५ सय १ सदस्यीय समिति निर्माण गरिएको जानकारी दिनुभयो । साथै महायज्ञ सफल पार्न समिति मात्र सक्रिय भएर नहुने भन्दै सम्पूर्ण स्थानीय तथा नेपाल र विदेशमा रहनुहुने नेपालीलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

 सो कार्यक्रममा संस्कृतविद् , प्रखरवक्ता तथा वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले गुरुकुलले गार्गी र विदुषी उत्पादन गर्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले गुरुकुललाई विद्यापीठका रूपमा लैजान सक्ने समेत जोड दिनुभयो । विश्व हिन्दु महासङ्घका महासचिव रामचन्द्र तिवारीले आफूले विश्व हिन्दु महासङ्घका सम्पूर्ण पदाधिकारीलाई यो महायज्ञ भनेको हाम्रो कार्यक्रम हो र यसलाई सफल पार्न सङ्घको महत्त्वपूर्ण भूमिका रहने भन्दै पत्र नै काटी संयोजनका लागि जिम्मा समेत दिइसकेको बताउनुभयो ।

 कार्यक्रममा बोल्दै महायज्ञका सहसंयोजक टंकनाथ पौडेलले सम्पूर्ण नारी शक्तिको सम्मान स्वरूप छोरीहरूको शिक्षाका निम्ति आयोजित महायज्ञलाई सफल पार्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वरिष्ठ सञ्चार कर्मी रमेश अर्यालले गुरुकुल आफैमा धार्मिक महत्त्व बोकेको देवघाट धाममा स्थापित भएर पनि पशुपति क्षेत्रमा महायज्ञ सञ्चालन हुँदा चितवन र काठमाण्डौलाई यसले धार्मिक रूपमा नयाँ कडी स्थापित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले आफू र आफ्ना संस्थाले महायज्ञका लागि यथाशक्य सहयोग गर्ने बताउनुभयो ।

 सो कार्यक्रममा गार्गी कन्या गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष तथा सह प्राध्यापक डा. मन काफ्लेले सबै समुदायका छोरीलाई शिक्षित बनाउन गार्गी गुरुकुलको स्थापना गरिएको समेत जानकारी दिनुभयो । उहाँले यस महायज्ञले आजसम्म गुरुकुलका बारेमा जानकारी नभएका भक्तजनले समेत पुण्य कमाउने अवसर प्राप्त गर्ने बताउनुभयो । गुरुकुल व्यवस्थापन समितका महासचिव राम प्रसाद बस्तीले सहजिकरण गर्नु भएको कार्यक्रम मा अध्यक्ष शान्त प्रसाद पोखरेल .गुरुकुलका निर्मला पोखरेल ,पुष्प लोहनी सामाजिक एवं धार्मिक अभियन्ता सन्तोष आचार्य लगायतले बोल्नुभएको थियो ।

 कार्यक्रममा धार्मिक साथै सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपालको पहिलो तथा समावेशी गुरुकुलको रूपमा रहेको उक्त गुरुकुलमा सरकारी निकायबाट स्वीकृति प्राप्त गरी हाल माध्यमिक तह कक्षा ६ देखि १२ सम्मको औपचारिक कक्षा सञ्चालन भइरहेको छ । गुरुकुलमा देशका ४७ जिल्लाबाट ८० जना बालिकाले आवासीय सुविधासहित निःशुल्क शिक्षा प्राप्त गरिरहेका छन् ।

 नेपालमा हाल कुल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिकाहरू पढ्ने गरेका छन् । संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था समेत मिलाइएको छ । काठमाडौँको पाशुपत क्षेत्रको सुमार्गी भवन परिसर मा हुने छ ।महायज्ञको प्रमुख वाचकमा प्रखर भागतवाचक पण्डित कुवेर सुवेदी रहनुभएको छ । 

यही फागुन १ गते देखि ९गते सम्म हुने सो|महायज्ञको समुद्घाटन अघि बिहान कलश यात्रा सहितको झाकी पनि निकालिने आयोजकले जनाएको छ | शिक्षामा समावेशिताको साथै विश्वको प्राचीन भाषा संस्कृत कोसंरक्षणमा पनि गुरुकुलका माध्यमबाट टेवा पुगेको बताउनु हुँदै भगवती उपाध्याय , गुरुकुलका संरक्षक भगवती उपाध्यायले महायज्ञ सबैलाई आउन आग्रह गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस