मातृभाषामा शपथ लिदै ४७ सांसद

काठमाडौं : मातृभाषामा शपथ लिन ४७ जना सांसदले नाम टिपाएका छन्। हालसम्म मातृभाषामा शपथ  लिनका लागि ४७ सांसदले  नाम दिएको  संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले  जानकारी दिए। नेपालमा १२४ मातृ  भाषा छन्। २०६४ को पहिलो संविधानसभापछि धेरैले  मातृ भाषामा शपथ गर्नका लागि टिपाएको संसद् सचिवालयले  जनाएको छ। 

२०६४ को संविधानसभामा २ सय ६४ जनाले आआफ्ना मातृभाषामा शपथ लिएका थिए। २०७० मा ३५, २०७४ मा ४६ र २०७९ सालमा २८ सांसदले मातृभाषामा शपथ लिएका थिए । योपटक संस्कृत भाषादेखि आफ्नो मातृ भाषामा शपथ लिने भएको छ। राप्रपा सांसद खुश्बु ओली संस्कृत भाषामा शपथ गर्ने भन्दै नाम लेखाएकी छन्।

उनी राप्रपाकी समानुपातिक सांसद हुन्। सप्तरीकी  अकिता  ठाकुर, मोरङकी आशा झा,  महोत्तरीका उज्ज्वलकुमार झा, महोत्तरीकै कामिनीकुमारी, सिराहाका तपेश्वर यादव, महोत्तरीकै दीपककुमार साहले मैथलीमा शपथ लिँदैछन्। सुनसरीका अर्का दीपककुमार साह, सर्लाहीका नरेन्द्र साह कलवार, सुनसरीकी निशा मेहता, धनुषाका मनिष झा र मातृकाप्रसाद यादव, सप्तरीका रामजी यादव, सिराहका शम्भुकुमार यादव र सप्तरीका सिताराम साहले मैथली शपथ लिँदैछन्। 


काठमाडौंकी अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुसुम महर्जन, कृपा महर्जन, भक्तपुरका गंगालक्ष्मी अवाल, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जित र काठमाडौंका विराजभक्त श्रेष्ठले नेपाल भाषामा  शपथ गर्दै छन्। सप्तरीका अमरकान्त चौधरी, सुनसरीका अशोककुमार चौधरी, कञ्चनपुरका गीता चौधरी, मोरङका प्रमिलाकुमारी गच्छदार र दाङका सुरेन्द्र चौधरीले  थारु भाषामा शपथ गर्दै छन्। कैलालीकी करिस्मा कठरियाले कठरिया थारुमा शपथ लिनको लागि नाम  टिपाएकी  छन्। त्यस्तै कञ्चनपुरका कृपाराम रानाले राना थारु भाषा  शपथ लिने भएका  छन्। 
बझाङका ऐनबहादुर महरले बझाङी भाषामा लिँदैछन्। डडेलधुराका  आकृति  अवस्थी र हरिनादेवी कामी, कञ्चनपुरका  दीपककुमार बोहराले डोटेली भाषामा शपथ लिनेछन्। रुपन्देहीका  कन्हैया बनियाँ, पर्साका बुद्धिप्रसाद पन्त, रौतहटका रवीन्द्र पटेलले भोजपुरी भाषा शपथ लिनेछन् । बागलुङका गंगा छन्त्यालले छन्त्याल, धनुषाका जोगकुमार बरबरिया यादव, धनुषाकै  राजकिशोर महतो र महोत्तरीका प्रमोदकुमार महतोले मगही, भोजपुरका धु्रवकुमार राईले बान्तावा, सर्लाहीकी नीतिमा भण्डारी (कार्की) र रौतहटका राजेशकुमार चौधरीले बजिका, इलामका निश्कल राईले चाम्लिङ, काठमाडौंका  परशुराम तामाङले तामाङ,  बाँकेका मो.  इश्तियाक  राईले अबधि र बागलुङकी रेनुका काउँचाले मगरखाम भाषामा शपथ लिँदैछन्।   रौतहटकी  शाहजान खातुनले पनि  आफ्नै भाषामा शपथ लिने भएकी  छन् । 
संसद् सचिवालयका प्रवक्ता गिरी अरूले शपथ बेलासम्म आएमा थप हुनसक्ने जानकारी दिए। चैत  ११ गते ज्येष्ठ  सांसद अर्जुननरसिंह केसीको शपथ हुँदैछ। चैत १२ गते ज्येष्ठ सांसद सदस्यको हैसियतमा  अन्य प्रतिनिधिसभा सदस्यलाई शपथ गराउनेछन्। 
चैत १३ गते प्रधानमन्त्री बालेन्द्र शाहको शपथ हुनेछ। गत फागुन २१ गते भएको आम  निर्वाचनमा ६ वटा पार्टी राष्ट्रिय  दल बनेका छन्। २ सय ७५ सदस्यीय प्रतिनिधिमा रास्वपा १८२ सिट जितेर दुईतिहाइनजिक छ । त्यस्तै कांग्रेसले ३८, एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले  १७,   श्रम संस्कृति पार्टीले ७, राप्रपाले ४ सिट जितेको छ। स्वतन्त्रबाट १ जना  निर्वाचित  भएका  छन्।
उता राष्ट्रियसभामा कांग्रेसको २४, नेपाली कम्युनिस्ट पार्टी १७, एमालेको १०, जसपा  नेपालको २, लोसपा र राष्ट्रिय जनमोर्चाको १/१ सिट छ। नयाँ  संसद् भवन  नयाँ सांसदका लागि तयारी अवस्था छन्। १२ गतेको शपथको सिंहदरबारस्थित नयाँ संसद्मा भवनको बहुउद्देश्यीय हलको भौतिक पूर्वाधारको काम सकिएको संसद् सचिवालयका  प्रवक्ता गिरीले जानकारी दिए। बहुउद्देश्यीय हललाई अस्थायी रूपमा प्रयोग गर्न लागिएको उनले बताए । 
दलहरू संसदीय दलको नेता चयनको गृहकार्यमा 
राजनीतिक दलहरू संसदीय दलको नेता चयनको गृहकार्यमा छन्। सबैभन्दा ठूलो  सरकारको नेतृत्व गर्ने रास्वपाले भावी प्रधानमन्त्री भनेर बालेन्द्र शाहलाई घोषणा गरिसकेकाले  बिहीबार बस्ने बैठकले दल नेता चयन गर्ने भएको छ।  शुक्रबार प्रधानमन्त्रीकै शपथ छ। मन्त्री छान्नेदेखिका गृहकार्यमा रास्वपा  व्यस्त छ। उता कांग्रेसमा पनि  संसदीय दलको नेता छान्ने गृहकार्य भइरहेको छ। सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवै पक्षधर संसदीय दलको नेता आफ्नो पक्षको बनाउने चलखेलमा लागेका छन्। 
एमालेमा पनि संसदीय दलको नेता चयन गृहकार्य भइरहेको छ। प्रत्यक्ष निर्वाचित युवा बनाउने वा  समानुपातिकबाट निर्वाचित पुराना नेतालाई संसदीय दलको जिम्मा लगाउने विषयमा एमालेमा पनि तानातान भइरहेको छ। पहिलोपटक संसद्मा  छिरेको  श्रम संस्कृति पार्टीका  अध्यक्ष हर्क सम्पाङ पनि काठमाडौं आइसकेका छन्।  उनी नै संसदीय दलको नेता  हुने करिब–करिब निश्चित छ।   राप्रपाले भने ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता र खुश्बु ओलीलाई प्रमुख सचेतक बनाइसकेको छ।https://annapurnapost.com/story/496673/

प्रतिकृया दिनुहोस