इन्द्रावती खोलामा आएको बाढीले पुल बगायो, यातायात अवरुद्ध
ताप्लेजुङ, जेठ ९ गते ।गएराति परेको अविरल वर्षापछि इन्द्रावती खोलामा आएको बाढीले ताप्लेजुङ र पाँचथर जोड्ने मोटरेबल पुल बगाएकाे छ । बाढीले पुल बगाउँदा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले पुल बगाउँदा ताप्लेजुङ सदरमुकामसँग सम्पर्क बिच्छेद भएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्ने इन्द्रावती खोलामाथिको पुलमा बाढीले क्षति पुर्याएको हो। स्थानीय संजय पन्दाकले शुक्रबार राति खोलामा एक्कासि आएको बाढीले पुलको साब्लाखुतर्फको भाग कटान गरेपछि यातायात बन्द भएको जानकारी दिए।
पन्दाकले पुलको पक्की संरचनाबाहिरको करिब छ मिटर जति भाग बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको बताए । उनले पुलको मुख्य संरचना समेत जोखिममा परेकाले थप क्षति हुन सक्ने चिन्ता व्यक्त गरे ।पुल क्षतिग्रस्त बनेपछि सिदिङ्वा गाउँपालिका क्षेत्रसँगै सिरिजङ्घा गाउँपालिका–७ खेवाङ र वडा नं. ८ याम्फुदिनबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका यातायात सेवा बन्द भएका छन्।
सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना)ले पुलमा क्षति पुगेपछि सिदिङ्वाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ जाने तथा पाँचथर, इलाम हुँदै अन्य जिल्लातर्फ जाने सवारी साधन बाटाेमै रोकिएकाे जानकारी दिइन् । उनले सिदिङ्वातर्फ प्रवेश गर्ने यात्रु तथा मालबाहक सवारी साधनसमेत पाँचथरतर्फ नै रोकिएको बताइन्।
शुक्रबार साँझपछि इन्द्रावती खोलाको माथिल्लो क्षेत्रमा भारी वर्षा भएपछि बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ। हालसम्म उक्त पुलबाहेक अन्य स्थानमा बाढीले थप क्षति पुर्याए–नपुर्याएकोबारे आधिकारिक जानकारी प्राप्त नभएको गाउँपालिकाले जनाएको छ।









प्रतिकृया दिनुहोस