एक महिनामा पाथीभरामा ६४ हजारभन्दा बढी तीर्थयात्री

ताप्लेजुङ, ३० कार्तिक । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एक महिनाको अवधिमा ६४ हजारभन्दा बढी तीर्थयात्री पुगेका छन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिकमा ६४ हजार १०६ जना भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।

शनिबार मात्रै ११ हजार २७२ जना भक्तजन पाथीभरा पुगेका थिए । उक्त विवरण पछिल्लो तीन वर्षयताकै एकै दिनमा मन्दिर दर्शन गर्ने भक्तजनको सबैभन्दा ठूलो सङ्ख्या रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।

यसैगरी, कात्तिक १७ गते १० हजार ६१६ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । चालु आर्थिक वर्षका अन्य महिनाको तुलनामा कात्तिकमा सबैभन्दा धेरै दर्शनार्थी पाथीभरा पुगेका हुन् । यसअघि असोजमा ११ हजार ९३०, भदौमा छ हजार १२३ र साउनमा दुई हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए ।

पाथीभराको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यहाँ हरेक वर्ष स्वदेशी तथा विदेशी गरी तीन लाखभन्दा बढी भक्तजन दर्शनका लागि पुग्ने गरेका छन् ।दर्शनार्थीको चाप बढेपछि फुङलिङ बजार, सुकेटार, काफ्लेपाटी र माथिल्लो फेदीका होटल भरिभराउ भएका छन् । मेची राजमार्ग र तमोर करिडोरमा समेत सवारीसाधनको चाप बढेको छ । समुद्री सतहबाट तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभराबाट कञ्चनजङ्घा, मकालुसहितका हिमशृङ्खला र प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ । पछिल्लो समय धार्मिक दर्शनसँगै पदयात्रा र प्राकृतिक सौन्दर्य अवलोकनका लागि आउने पर्यटकसमेत बढ्न थालेका छन् ।

प्रतिकृया दिनुहोस