नवदुर्गा त्रिशक्ति भजन समुह प्रथम ,राम जानकी बालिका आश्रम दोस्रो

चितवन, ९ फागुन ।
कालिका मिडिया र महाकालेश्वर शिव मन्दिरको संयुक्त आयोजनामा बृहत भजन महोत्सव सम्पन्न गरेको छ । प्रतियोगितामा सहभागी सबै समूहलाई पराजित गर्दै नवदुर्गा त्रिशक्ति भजन समूह प्रथम भएको छ । यसैगरी राम जानकी बालिका आश्रम देवघाटले दोस्रो स्थान हासिल गरेको छ, भने मिलन भजन समूह भरतपुर २१ ले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगितामा पारिजात महिला समूह र लक्ष्मी नारायण मन्दिर तथा मुक्तिनाथ भजन समूह गैँडाकोटले सान्त्वना पुरस्कार हासिल गरेका छन् ।

प्रथम हुने समूहले नगद २५ हजार रुपैया पुरस्कार स्वरुप प्राप्त गरेको छ भने दोस्रो हुने समूहले २० हजार पुरस्कार प्राप्त गरेका छन् । यसै गरी तृतीय हुने समूहले नगद १५ हजार र सान्त्वना स्थान हासिल गर्ने दुई वटा समूहले पाँच ÷ पाँच हजार नगद प्राप्त गर्न सफल भएका छन् ।

महाशिवरात्रीको अवसरमा गरिएको भजन महोत्सवको उद्घाटन कालिका मिडियाका प्रवन्धक निर्देशक विक्रम पाण्डे र ब्रह्मचारी सुभाव चैतन्यले संयुक्त रुपमा गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कालिका मिडियाका प्रवन्धक निर्देशक पाण्डेले सनातन हिन्दुधर्मलाई विभिन्न तरिकाबाट हस्तक्षेप गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले हिन्दुधर्म संरक्षणका लागि ससक्क्त भुमिका खेल्नुपर्ने अवस्था आएको भन्दै धर्मसंस्कृतिको संरक्षणका लागि कालिका मिडिया सदैव लागि परेको बताउनुभयो । त्यस्तै ब्रह्मचारी सुभाव चैतन्यले शिवरात्री प्रत्येक महिनाको चतुर्दशीका पर्ने भन्दै फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको बताउनुभयो ।

ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुने बताउँदै उहाँले ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिने बताउनुभयो । उहाँले महाशिवरात्रिमा पुजाआजा गर्नाले सुखको प्राप्ति हुने विश्वास रहेको बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले शिवरात्रीलाई शक्तिको प्रतिकका रुपमा मानिने भएको सामाजिक विकृति हटाउँदै चाडपर्व मनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले महाकालेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा विकास भएकाले यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले नेपाल संस्कृतिले भरिपूर्ण रहेको भन्दै निर्वाध रुपमा आफ्ना पर्वहरु मनाउने वातावरण सृजना गर्नुपर्ने धारणा राख्नुभयो । भजन महोत्सवमा दुई दर्जन भन्दा बढि समुहले सहभागिता जनाएको कालिका मिडियाका निर्देशक दिपक पौडेलले जानकारी दिनुभयो । भजन महोत्सवको सुभारम्भ हुनु अघि भजन महोत्सवको प्रचारस्वरुप शोभा यात्रा निकालिएको थियो । यसैगरी नवनिर्मित राधाकृष्ण मन्दिरको आज एक समारोहका विच पुर्वमन्त्री एवम् कालिका मिडियाका प्रवन्धक निर्देशक विक्रम पाण्डेले उद्घाटन गर्नुभयो ।

महाकालेश्वर शिव मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष बामदेव शर्माले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तिराज गुरुङ, जुनियर प्रहरी शिक्षालय भरतपुरका निमिक्त प्रमुख बुद्धि गुरुङ, विश्व हिन्दु महासंघ जिल्ला शाखा चितवनका अध्यक्ष प्रेम गैरे, देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष टंकनाथ पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्ट लगायतको उपस्थिति रहेको थियो । भजन महोत्सवको कालिका एफ.एम र कालिका एचडीले गरेको प्रत्यक्ष प्रसारण थियो ।

प्रतिकृया दिनुहोस