श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिरको सहयोगार्थ


लंकु १० असोज,। भरतपुर ४ लंकुमा निमार्ण भइरहेको श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिरको सहयोगार्थ सञ्चारमाध्यमबाट दर्शन तथा प्रवचन श्रवण गर्न सकिने विश्व जनजागरणात्मक एकमासव्यापी श्रीमद्भागवत ,राम ,कृष्ण कथामृत ज्ञान महायज्ञ २०७७ को आज शनिवार उद्घाटन भएको छ । महायज्ञको कार्यक्रमका प्रमुख अतिथि हरिहर सन्न्यास आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भएको छ । उहाँले मन्दिर निर्माण कार्यक्रममा सहयोग गर्दा आफैलाई पुण्य मिल्ने भन्दै सबैलाई सक्ने सहयोग गनृ बताउनु भयो । कार्यक्रममका विशिष्ट अतिथि महायज्ञका प्रधान व्यवस्थापक ईश्वरकृष्ण महाराज लगायतका महानुभावहरूले मानव जीवनलाई धन्य बनाउन महायज्ञमा सहयोग गर्न आह्वान गर्नुभयो ।कार्यक्रममा निम्बार्क दर्शन केन्द्र,गैंडाकोटका पीठाधीश हरिशरण उपाध्याय,गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल,नव मन्दिर निर्माण आर्थिक समितिका संयोजक चेतनारायण सापकोटा लगायतका महानुभावहरूले लगायतले बोल्नुभएको थियो । ःमन्दिरका पिठाधिश स्वामी जगन्नाथाचार्य को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मन्दिर संचालक समितिका सचिव कमलयन कंडेलको स्वागत मन्तव्यसँगै सुरुवात भएको भएको थियो ।
महायज्ञ ४ चरणमा गर्न लागिएको छ । पहिलो चरणअन्तर्गत आजबाट सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञमा सुप्रसिद्ध कथावाचिका यशोदा देवी कौण्डिन्यज्यूले दैनिक प्रवचन गर्नुहुनेछ। विश्वव्यापी कोरोना महामारीका प्रकोपका कारण संचारमाध्यमबाट घरमै बसी यज्ञदर्शन,कथाश्रवण गर्न सकिने महायज्ञमा सामाजिक संजालका माध्यमबाट उपस्थित भई पुण्यलाभ गर्न समस्त धर्मानुरागी जनहरूमा महायज्ञ सम्पादन समितिले हार्दिक आह्वानसमेत गरेको छ।बाग्लुङ,गुल्मी,पर्वत आदि जिल्लाहरूबाट बसाइँ सरी आएका भक्तजनहरूबाट भूमिदानस्वरूप उपलब्ध भएको जमिनमा २०२७ सालमा शिलान्यास भई २०३१ सालको फागुन महिनाको हस्त नक्षत्रमा प्राणप्रतिष्ठा भएर संचालन हुँदै आएको यस मन्दिरमा २०४४ सालदेखि आवासीय संस्कृत गुरुकुल पनि चल्दै आएको छ। गुरुकुलमा हाल कक्षा दशसम्म पढाइ चलिरहेको छ।२०७२ सालमा आएको महाभूकम्पले क्षतिग्रस्त भएपछि नयाँ मन्दिर बनाउनुपर्ने आवश्यकता महसुस गर्दै २०७४ साल वैशाख २५ गते नव मन्दिरको शिलान्यास भएको थियो।कलात्मक मन्दिर,विशिष्ट पाकशाला,भण्डारकक्ष,भोजनालय, अतिथिगृह ,सिसमहल,पुष्करिणी, सत्सङ्गस्थल,योगशाला,गोपूर(द्वार), सभागृह ,पुस्तकालय,कार्यालय,उद्यान, पर्खाल आदिको निर्माण गर्न न्यूनतम १५ करोड लाग्ने अनुमान रहेको र हाल चलिरहेको महायज्ञबाट मन्दिर निर्माणका लागि तत्काल आवश्यक २ करोड ५३ लाख संकलन गर्ने लक्ष्य राखिएको मन्दिर संचालक समितिका अध्यक्ष एवम् पीठाधीश स्वामी जगन्नाथाचार्यले जानकारी दिनुभयो। भरतपुर(४,लङ्कु, चितवनमा विश्वव्यापी कोरोना भाइरसको प्रकोपका कारणले झन्डै स्थगित हुनतर्फ उन्मुख भइरहेको विशेष वास्तुकलाले बन्न लागेको जीर्णोद्धारात्मक श्रीलक्ष्मीवैकुण्ठनाथ मन्दिर नव निर्माणकार्यको सम्पूर्तिका लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।

प्रतिकृया दिनुहोस