आज तिहारको टिकाको दिन , यस्तो छ टिकाको साइत

गोवर्धनपूजा ,भाई टिकाको साईत र यसको महत्व !
मिति २०७७ साल मंसिर १ गते सोमबार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि प्रात : ९ / १२ बजेसम्म त्यस उप्रान्त दुतिया तिथि आरम्भ हुने भएकोले आरम्भ हुने हुनाले गोवर्धनपूजा गरेर भाईटिका गर्नु पर्दछ।भाईटिकाको साइत बिहान ११ / ३७ बजे रहेको छ।
गोवर्धन पूजा चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो ।विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे ।गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए ।कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।
संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । वास्तवमा गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्।कार्तिकशुक्ल प्रतिपदा गोवर्धन पूजाको दिन ,यो दिन गाई ,गोरुको पूजा गरिन्छ।समुन्द्र मथनबाट निक्लिनु भएको कामधेनु गाईलाई लक्ष्मिको स्वरुप मानिन्छ।सर्वप्रथम नन्दबाबाले इन्द्रको पूजा गर्नु भएको थियो र भगवान श्रीकृष्णले थाहा पाएर त्यो इन्द्रको पूजा हटाई गोवर्धन पर्वतको पूजा गर्नु भएको थियो।गोवर्धन पर्वत स्वयम् परमात्मा भगवान श्रीकृष्ण बनि छपन्न भोग {छपन्न थरि भगवानलाई चढ्ने खानेकुराहरु}ग्रहण गर्नु भएको थियो।त्यसैले आजको दिन गाई ,गोवर्धनको पूजा सकेर प्रार्थना गर्नु पर्दछ।
"गोवर्धन धराधार गोकुल त्राणकारक।
विष्णुबाहुकृतोच्छ्राय गवां कोटिप्रदो भव।।
या लक्ष्मीर्लोकपालानं धेनुरुपेण संस्थिता।
घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु।।
गावो मे अग्रत:सन्तु गावो मे सन्तु पृष्ठत:/
गावो मे हृदय सन्तु गवां मध्ये वसाम्यहम्।।
- पृथ्वीको धारण गर्नुहुने गोवर्धन!हजुर गोकुलको रक्षक हुनुहुन्छ।भगवान श्रीकृष्णले हजुरलाई आफ्नु हातको कान्छी औंला माथि उठाउनु भएको थियो।हजुर मलाई कोटि-कोटि गाईहरु प्रदान गर्नुहोस किनकि लोकपालहरुको जो लक्ष्मी गाइकोरुपमा स्थित हुनुहुन्छ र यज्ञको लागि हजुर घ्यु प्रदान गर्नुहुन्छ वहाँले मेरो पापहरु नास गर्नुहुन्छ।मेरो अगाडी गाई,मेरो पछाडी गाई,मेरो हृदयमा गाइको निवास होस् तथा म गाइको बिचमा निवास गरौँ{बस्न सकौं} /
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।
हिन्दू धर्ममा टीकाको धेरै महत्व छ, पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति हुन्छ। टीका विशेषत: रातो वा पहेलो रंगका लगाइन्छ। टीका निधारमा लगाइन्छ। तिहारमा लगाइने टीका सात रंगका हुन्छन्, पहेंलो, नीलो, सुन्तला रंगको, सेतो, हरियो, रातो र कालो। सात रंगका यी टीकालाई सप्तरंगी भनिन्छ। सतरंगी टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। यसबाट तीनवटा रंग घरमा पनि तयार गर्न सकिन्छ। हरियो रंगको लागि हरियो घास पिनेर तयार गरिन्छ, सेतो रंग चामल पिनेर र कालो रंग कोइलाबाट वा बत्तीको कालिबाट लिइन्छ।
 
 
 
 
 
 
 
 

प्रतिकृया दिनुहोस