गीता जयन्ती मनाइयो

 

काठमाडौ , ११,पुष ।विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति बाँसबारीको आयोजना र ॐकारवाणी धार्मिक पत्रिकाको संयोजनमा श्रीमद्भगवद्गीता जयन्ती समारोह सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिको सम्पर्क कार्यालय कोटेश्वर महादेवस्थान परिसर काठमाडौंमा भएको कार्यक्रमको सभापतित्व महासंघका सल्लाहकार पूर्वमन्त्री दीनबन्धु अर्यालले गर्नुभएको थियो । कार्यक्रममा पुरुषसूक्त मन्त्रले श्रीमद्भगवद्गीता पूजन तथा गीताको महत्त्वमाथि प्रकाश केन्द्रीय सदस्य पं लेखनाथ न्यौपानेले गराउनुभएको थियो भने गीताको पुरुषोत्तम योग वर्णित पन्ध्रौं अध्यायको पाठ कार्यक्रम संचालक एवम् राष्ट्रिय समितिका महासचिव अरुणकुमार पाण्डेले गर्नुभएको थियो । कार्यक्रमका सभापति पूर्वमन्त्री दीनबन्धु अर्यालले गीताको बारेमा विशेष प्रवचन गर्नुभएको थियो । गीता जयन्तीको अवसरमा आफ्ना मन्तव्य व्यक्त गर्नुहुने अन्य वक्ताहरुमा पूर्व उपसभापति नवराज के सी, केन्द्रिय सदस्यहरु मीना सुवेदी, गजेन्द्र अर्याल, केशवप्रसाद चौलागाईं, अम्बरबहादुर के सी, विन्दा ढुंगेल र शारदा सिंह हुनुहुन्थ्यो । ॐकारवाणी धार्मिक पत्रिकाले वि सं २०६९ सालदेखि निरन्तर आयोजना गर्दै आएको गीता जयन्ती कार्यक्रम विगत चारवर्ष देखि विश्व हिन्दु महासंघको सहकार्यमा मनाउँदै आएको कार्यक्रम सञ्चालक ॐकारवाणीका सम्पादक प्रकाशक अरुणकुमार पाण्डेले बताउनुभयो । " द्वापर युगमा भगवान श्रीकृष्णले महाभारतको युद्ध मैदानमा उत्रिएका कौरब र पाण्डव सेनाका मध्यभागमा योद्धा अर्जुनलाई दिनुभएको गीता ज्ञान सनातन ज्ञान हो । हालसम्म अठ्ठाइसौं द्वापरयुग वितिसकेको र भगवानले अर्जुनलाई बताउनुभन्दा धेरै पहिले सूर्यलाई गीता सुनाएको कुरा उल्लेख गर्नुभएको हुनाले यो गीता ज्ञानको इतिहास अनुमान गर्न गाह्रो छ " सभापति अर्यालले बताउनुभयो । कार्यक्रममा अधिकांश वक्ताले गीता पूज्न भन्दा बुझ्न बुझाउन जरुरी रहेको र विद्यालय तहदेखि नै गीतालाई पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभएको थियो

प्रतिकृया दिनुहोस