आज २५६४औँ बुद्ध जयन्ती

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ ।

बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युझाउन सहयोग गरे ।

जसरी कुनै सामान या मेशिन किन्दा त्यसको प्रयोग गर्ने तरिकाहरूसहितको यसो गर्नु या नगर्नु भन्ने तथ्यसहितको प्रयोग पुस्तिका पाइन्छ, त्यस्तै जीवन अनि जगतसम्बन्धी सहज अनि सफलताका प्रयोग पुस्तिका बुद्धले दिएर गएका छन् । हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ विजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बीचमा भएको थियो ।

आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । आउनुहोस्, आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात् बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धको चर्चा गरौँ । गौतम बुद्धका जीवनमा यो बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधी यही बैशाख पूर्णिमाकै दिन भएको हो ।

शाक्यमुनीको जन्म विषयमा दुई तर्कहरू
शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरि मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोश्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको प्रचार–प्रसार श्रीलङ्काबाट भएको छ ।

त्यसकारण नेपालमा सिंहली मत अनुसारको भगवान् बुद्धको जन्म मिति प्रचलित छ । केन्टोनिज मतको विकास पूर्वी चीनको केन्टन शहरबाट भएको हो । भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि प्रत्येक वर्ष केन्टनको एउटा ढुङ्गाको गुफाको पहरोमा एउटा थोप्लो अङ्कित गरेर बुद्धको महापरिनिर्वाण वर्षको अभिलेख राख्न थालियो । यसलाई डटेट रेकर्ड भनिन्छ । सन् ४८९ सम्म यस्तो थोप्लोको संख्या ९७५ पुगेको थियो ।

भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दाअघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।

यिनै शाक्यमुनिको जन्म, समाधी अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । आज हामी सबैका गौतम बुद्ध २५६५ वर्ष हुँदैछन् । भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मिक सीपमार्फत् बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मना साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।

यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । यी राजकुमारलाई मानव जीवनमा आईपर्ने पीडा र दुःख निवारण गर्ने ज्ञानको खोजी थियो । वर्षौपछिको यिनको तपस्याले निकालेको दर्शन र ज्ञान नै बुद्धत्व हो । ज्ञान प्राप्तिको पथमा बिरामी मानिसहरू, घाइतेहरू, लोभीका साथ–साथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मानिसको अवस्था पनि सिद्धार्थ गौतमले नियाले ।

त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा बुद्धलाई सम्यक सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभइकन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वव्यापी दर्शन ।

यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौ सम्यक सम्बुद्ध मानिन्छ ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ । बौद्ध क्षेत्रका सङ्घसंस्थाको बैठकले बौद्ध चैत्यमा यस्तै निर्णय गरेको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।

 

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६४ वर्षअघि कपिलवस्तु जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।

 

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाडेका थिए । 

 

 यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे । 

 

विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । 

 

विसं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

 

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ । 

 

यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एशियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् । 

 

यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । विश्वका अतिप्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएका छन् ।

 

बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले ई.पू. २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

 

तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भदेखि पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा  स्तम्भ संरक्षण गरिएको थियो । सन् १९५६ मा चौँथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो । 

 

बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन विसं २०७० को अन्तिमतिर एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानुभएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एशियाका भारत, बर्मा, श्रीलङ्का, थाइल्याण्ड, हङ्कङ्, मङ्गोलिया, भुटान, सिङ्गापुर लगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरेका थिए ।

 

प्रस्तावलाई धेरै देशले समर्थनसमेत गरेका थिए । नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव तत्कालीन संविधानसभा सदस्य रामेश्वर फुयाँलले संसद्मा दर्ता गराएका थिए ।

विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौं ठूलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलंका, बर्मा, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।

संसारभरि फैलिएको बुद्ध दर्शनको उदगम् बिन्दू नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ । तसर्थ, बुद्धको जन्मभूमिमा आजको दिनमा विभिन्न देशहरूले संसारभरिबाट अदभूत् मन्दिर गुम्बाहरू निर्माण गरेका छन् । बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन् । उनले बोधगयामा कठोर तपस्या ध्यानपश्चात् महाज्ञान प्राप्त गरेका थिए । बुद्धका सबै शिक्षा र उपदेशहरूको संग्रहलाई त्रिपिटक भनिन्छ ।

त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू संग्रहित छ्न् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् ।

गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपालभूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिँदै आएको छ ।

बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । 

प्रतिकृया दिनुहोस