आज महाष्टमी पर्व,दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । आज महाअष्टमी अर्थात नवरात्रिको आठौं दिन ।  नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । महाअष्टमीको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।

गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित गरि नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ । घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गर्ने चलन छ । आजको दिन शक्तिपीठ, दशैंघर अनि विभिन्न मन्दिरमा विशेष घुँईचो रहन्छ ।

अष्टमीको मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान हुने गर्दछ । महाअष्टमीको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ। सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरीएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गरेको इतिहास छ । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् भन्ने किम्बदन्ती छ ।
 
शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि महाअष्टमीको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।

आजको दिन शास्त्रसम्मतरुपमा दशैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको छ । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ । आजैका दिन राति कालरात्रि पशुबलिको विधि र पूजाराधनासहित मनाइन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण नगण्यमात्रामा बलिसहितको पूजा हुने छ ।

यसैगरी उपत्यका बाहिरका नुवाकोटका जाल्पामाई र भैरवी, गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकका चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवतीलगायत शक्तिपीठमा पनि बलिसहित पूजाराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । 



 काठमाण्डौ उपत्यका वरिपरिका शक्तिपीठहरु जस्तै दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भग्वती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही लगायतका मन्दिरहरूमा पूजा आराधना गरी बलि चढाउनेहरुको घुइँचो लाग्ने गर्छ ।

त्यसैगरी सप्तरीको भारदहस्थित कंकालिनी देवीको मन्दिर लगायत सप्तरीकै छिन्नमस्ता मन्दिर, बारा जिल्लाको बरीयारपुरमा रहेको गढीमाई मन्दिर, पर्सा जिल्लाको वीरगञ्जस्थित विर्तामाई, गहवामाई, केहुनियास्थित विन्दवासिनी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर, मोरङ जिल्लाको विराटनगरमा रहेको काली मन्दिर, अछाम जिल्लाको मार्कुमा रहेको सान्नीकोट मन्दिर लगायत नेपालभरिकै शक्तिपीठहरुमा हजारौंको संख्यामा खसीबोका, राँगा, हाँस र कुखुरालाई वलि चढाइन्छ ।

काभ्रेको पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता भगवती, जनकपुरको राजदेवी, डडेल्धुराको उग्रतारा लगायतका मन्दिरहरूमा पनि शक्तिरूपा भगवतीको पूजा अर्चना गर्दै दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।

वलि दिने कुराको आजभोली चौतर्फी रुपमा विरोध हुन थालेको छ, पशु अधिकारसंग सम्बन्धित संघ/सस्थाहरुले अनि अन्तराष्ट्रिय नागरीक समाजहरुले यस्ता कार्यहरुलाई निन्दनीय भनेर ब्याख्या गरेको छ । अहिंसा पक्कै पनि राम्रो कुरा हो तथापि सभ्यतासंगै मासु खान जनावरहरुलाई प्रयोग गरिआएको चलनको मांशाहारीले पनि आ–आफ्नै तवरले ब्याख्या गरेका छन् 

प्रतिकृया दिनुहोस