आज विजयादशमी, उत्तम साइत ११ः५१ बजे

काठमाडौं । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।        

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने जनाएको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ । 

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । 

घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । 

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । 

आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् । गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।  
 

 

प्रतिकृया दिनुहोस