यस्तो बालाचतुर्दशीको धार्मिक महत्व !

 

चितवन , मंसिर ६  । वैदिक सनातनीहरुका विभिन्न चाडपर्व मध्ये   मार्गकृष्ण चतुर्दशी अर्थात बालाचर्तुदशी  पनि एक महत्वपुर्ण पर्व हो  ।यो पर्वको दिन आज   मंसिर ६ गते  मंगलबार त्रयोदशी तिथी प्रात:७ /१० बजेसम्म त्यस उप्रान्त चतुर्दशी तिथी  आरम्भ  भएको छ । यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । विहान  दिवङ्गत परिवारका सदस्यहरुको चिरशान्तिको कामना गर्दै  पशुपति क्षेत्रको मृगस्थलीमा,देवघाटधाम,त्रिवेणी लगायत विभिन्न धार्मिक धामहरुमा  सतबीज छर्नेको विहानै घुईचो लागेको छ । ।

 
यसैबीच, भोजपुरकै ऐतिहासिक महत्व बोकेको दिंलावजारमा हरेक वर्ष लाग्ने बाला चतुर्दशी मेलामा आज सतविज छर्ने क्रम चलिरहेको छ । सतविज छर्नको लागि दिंला बजारमा रहेका सिताराम, षडेश्वर, नर्मलेश्वर मन्दीर लगायतका विभिन्न मठ तथा मन्दीरहरुमा सतविज छर्ने तथा मेला भर्ने भक्तजन तथा सर्वसाधारणको घुँइचो निकै बढेको छ ।

।।बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ ।अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ ।यसैकारण पनि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपतिपरिसरमा आइपुग्छन् ।पशुपतिनाथमा छरिने शतबीजको महिमा बताउँदै हेमादि्रले भनेका छन्-

'सुवर्णरतिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते।'
नेपालीमा 'शतम्'को अर्थ सय र 'बीज'को अर्थ बीउ हुन्छ । यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ ।तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् ।यसैगरी शतबीजमा आफ्नो स्थानीय फलफूल पनि मिसाइन्छ । यस अवसरमा नेपालका विभिन्न स्थानबाट आएका भक्तजनहरूको बिहानैदेखि काठमाण्डौको पशुपतिनाथको मन्दिरमा सतबीज छर्न ठूलो भीड लाग्छ ।आफ्नो परिवारका दिवंगत आत्मालाई शान्ति दिलाउन १०८ शिवलिङ्गा कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप मन्दिर, किराँतेश्वर मन्दिर आदि ठाउँमा सतबीज छरिन्छ ।प्रचलनअनुसार मंसिर कृष्ण त्रयोदशीका दिन राति भक्तजनहरूले पशुपतिनाथको मन्दिरवरपर बसी दिवंगत आत्माको नाममा महादीप बाली रातभर भजनकीर्तन र लोक झाँकीका साथै दोहरीगीत गाएर रात बिताउँछन् ।सुरूमा सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका गणेश नजीक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्दछन्।
भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ। बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ।
धर्मसिन्धु पृ.९६१ ,टि.२ को मत अनुसार "विशेषत :शिवपूजां प्रमीतपितृको नर : /यावद्वत्सरपर्यन्तं मनसापी नचाचारेत्।।" अर्थात् - बाबुआमा आदिको मृत्यु भएको वर्ष अशौची पुत्रादिले शिवालयमा जानु ,शिवजीको दर्शनगर्नु ,पूजागर्नुआदि केहिगर्न हुँदैन ,दर्शन पूजाको त के कुरा शिवजीलाई मनले सम्झनसम्म पनि हुँदैन भन्ने शास्त्रीय निर्णय रहेको छ।त्यसैले वरखी बारेको वर्ष पशुपतिनाथमा बत्तिबाल्ने ,सतबीज छर्ने जस्ता कार्य गर्नु पर्दैन भन्ने पनि निर्णय रहेको छ।शतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन दान गरेजति पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
 

प्रतिकृया दिनुहोस