उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ पर्व सम्पन्न
सप्तरी, चैत ११ गते । मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको चौथो दिन बुधबार उदाउँदो सूर्यलाई अर्घ दिई पर्व सम्पन्न गरिएको छ । चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा पर्वको समापन भएको हो ।
कठोर व्रतका रूपमा चिनिने छठ पर्वमा चौथो दिन अर्थात् सप्तमी तिथिमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेजस्तै उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पर्व सम्पन्न भएको मानिन्छ ।
उदाउँदो सूर्यदेवलाई अर्घ अर्पण गर्न बुधबार बिहानै व्रतालुहरू पूजा सामग्री, ढाकी, डाला, माटोका हात्ती, केरा, नैवेद्यका विभिन्न परिकार तथा फलफूल लिएर छठ घाटमा पुगेका थिए ।
सन्तान प्राप्ति, रोगबाट मुक्ति, धन–सम्पत्तिमा वृद्धि लगायतका कामनासहित छठ पर्व मनाउने परम्परा रहिआएको छ ।
धार्मिक ग्रन्थहरूमा सृष्टिको प्रारम्भिक कालदेखि नै छठ पर्वको परम्परा रहेको उल्लेख छ । सूर्यको उपासनाबाट विभिन्न रोगबाट मुक्ति मिल्ने, छालासम्बन्धी रोग निको हुने तथा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।
बुधबार बिहान सप्तरीको राजविराजसहित जिल्लाका विभिन्न स्थानमा सूर्यदेवलाई अर्घ अर्पण गरिएको छ ।
राजविराजस्थित भगवती मन्दिर पोखरी, कल्टुदास पोखरी, तुरन्ती पोखरीलगायत स्थानमा मंगलबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरूले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि विधिवत् रूपमा पर्व सम्पन्न गरेका हुन् ।
श्रद्धालुहरूले परिवारको सुख, समृद्धि र सन्तानको दीर्घायुका लागि छठ मातासँग प्रार्थना गर्दै चौथो तथा अन्तिम दिन ‘उषाकालीन अर्घ’ दिएका हुन् ।
उदाउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरूले व्रत तोड्ने परम्परा रहेको छ, जसका कारण छठ पर्वलाई कठोर व्रतका रूपमा मानिन्छ । यो पर्व सूर्यदेव र छठ माताको आराधना गरी आत्मशुद्धि, अनुशासन र पारिवारिक कल्याणको प्रतीकका रूपमा लिइन्छ ।गोरखापत्र अनलाइन









प्रतिकृया दिनुहोस