भक्तपुरको याछेंमा ५९ बालिकाको सामूहिक बेल विवाह

भक्तपुर : भक्तपुरको याछेंमा मंगलबार ५९ बालिकाको सामूहिक बेल विवाह कार्य सुरु भएको छ । विवाह कार्य बुधबार सम्पन्न हुनेछ । नेवार कन्या कुमारीलाई ५ देखि ९ वर्षको उमेरमा गरिने दुईदिने सामूहिक बेलविवाह कर्म सुरु भएको हो । 

मंगलबार दुस्वः (भित्रिने) र बुधबार पिस्वः (बाहिरिने) गरी प्रारम्भिक दिन र समापन दिनको रुपमा दुई दिनसम्म बेलविवाह कर्म गरिनेछ । बेल विवाह कर्ममा जिल्लाका विभिन्न स्थानका बालिकाहरु परिवारसहित विशेष पोशाकमा सजिसजाउ गरी सहभागी भएका छन् । यसबाहेक पनि काठमाडौं, पनौती, साँगा, थिमि, बोडेलगायतका ठाउँहरुबाट पनि बेलविवाह गराउन आएको आयोजकले जनाएको छ । 

आयोजक समाज सेवा समिति याछें ६ भक्तपुरका सचिव राजाराम नापितले प्रति बेलविवाह दुई हजार पाँच सय रुपैयाँ शुल्क उठाएर आफूहरुले बेल विवाह कार्य गराइदिएको जानकारी गराए । यो खर्च बेल विवाह व्यवस्थापनलगायतका कार्यमा खर्चिने उनले जनाए । 

आयोजकले त्यहाँ सबै बन्दोवस्त मिलाएको थियो । वाइफाइदेखि , चिया नास्ता, बेल विवाह कार्यका लागि आवश्यक दुईजना पण्डितसहित आजाजू, जोशी, चित्रकार, नापितलगायतका व्यक्तिहरुको पनि बन्दोवस्त गरिदिएको थियो । मितव्ययिता अपनाएर कम खर्चमा बेल विवाह कर्म सम्पन्न गर्न सामूहिक बेल विवाह कर्म आयोजना गरेको आयोजकले जनायो । 

स्थानीय वृद्ध रामभक्त नाखण्डले समितिले विगत २८ वर्षदेखि प्रत्येक वर्ष निरन्तर सामूहिक बेल विवाह कार्य आयोजना गर्दै आएको जनाए । टोलका स्थानीयहरुबाट गठित समितिले पालैपालो अध्यक्षता ग्रहण गरेर पदाधिकारीहरुले जिम्मेबारी लिइ बेल विवाह गराउँदै आएको उनले जनाए । सामूहिक बेल विवाहले खर्च कम हुने उनको भनाइ छ

नेवार समुदायमा बेलकर्मको ज्यादै महत्व छ । जोशी, आचार्य, शर्मालगायतबाट साइत देखाएर जुराएपछि बेल विवाहको मिति निश्चित गरी विवाह कार्य सम्पन्न गर्ने चलन छ । यो क्रममा बेल विवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्णकुमारसँग विवाह गराई कन्यादान गर्ने गरिन्छ । 

कन्यादान कार्यमा प्रत्येक बालिकाका मातापितासहित परिवारजन तथा आफन्त गरी सयौंको सहभागिता रहने गर्दछ । यस क्रममा विवाह हेर्न आउनेहरुको संख्या पनि उतिकै धेरै हुने गर्दछ । 

विवाह कर्मको क्रममा सहभागी कन्याहरु पनि रमाउने गर्दछन् । बेल विवाहको एउटा मुख्य आकर्षण मित लगाउने कार्य हो । यस क्रममा बेल विवाहमा सहभागी कन्याबीच मित लगाउने प्रचलन छ । 

विवाहमा सहभागी भएकाहरुमध्ये दुई कन्याबीच मित लगाउने गरिन्छ । मित लगाएपछि उनीहरुबीच जीवनभर सम्बन्ध रहन्छ । विवाह, ब्रतबन्धलगायतका सबै कर्महरुमा नातागोता, आफन्त, छरछिमेकसरह मितलाई पनि निमन्त्रण गराई भोज खुवाउनेपर्ने चलन छ । 

संस्कृतिविद् ओम धौभडेल बेलसँग विवाह गरिने भएकाले नेवार समुदायकी महिला कहिले पनि विधुवा नहुने विश्वास रहेको बताउँछन् । पतिको मृत्यु भए पनि उनी विधुवा नहुने मानिने उनको कथन छ ।नेवारी समुदायमा बेल विवाहलाई विभिन्न कर्ममध्येको एक महत्वपूर्ण कर्म मानिन्छ । विशेष गरी रजस्वला हुनु अगाडि कन्याको बेल विवाह गर्ने प्रचलन छ । अन्नपुर्ण पोष्टबाट

प्रतिकृया दिनुहोस