चितवनको गणेशधाममा पहिलोपटक ‘गणेश उत्सव’ मनाईदै

/चितवनको भरतपुर महानगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गणेशधाममा आगामी भाद्र शुक्ल चतुर्थीको पावन अवसर पारेर तीन दिने ‘गणेश उत्सव’ आयोजना हुने भएको छ। गणेशधाम संरक्षण संवर्धन समितिले यही भदौ २९ देखि ३१ गतेसम्म भव्य रूपमा उत्सव मनाउन लागेको जानकारी शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत दिएको हो।

प्राचीनकालदेखि नै सिद्धिधामका रूपमा प्रसिद्ध र नेपालकै प्रमुख गणेश तीर्थस्थलमध्येको एक मानिने यस क्षेत्रमा सनातन संस्कृतिको प्रवर्धन तथा धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले श्री सिद्धिविनायक गणेश भगवानको विशेष पूजाआराधनासहित त्रिदिवसीय उत्सवको तयारी गरिएको गणेश उत्सव मूल समारोह समितिका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए।

उत्सवको पहिलो दिन भदौ २९ गते गणपतिको पूजा अर्चनाका साथ शास्त्रीय विधिपूर्वक मूर्ति स्थापना गरी गणेश महिमा गान गरिनेछ। दोस्रो दिन भदौ ३० गते गणेश भगवानका प्रिय वस्तुहरू दुबो, लड्डु र समीपत्र लगायतद्वारा विशेष पूजा गरिने कार्यक्रम रहेको छ। अन्तिम दिन भदौ ३१ गते समापन पूजा, पूर्णाहुति, अभिषेक र प्रसाद वितरणपछि सन्ध्याकालमा बाजागाजासहित उत्सव मूर्तिलाई नगर परिक्रमा गराई नारायणी नदीमा विसर्जन गरिनेछ। उत्सवका तीनै दिन विज्ञ आचार्यहरूबाट गणेश महिमाको प्रवचन, भजनकीर्तन तथा भव्य आरतीका कर्महरू सञ्चालन हुनेछन्। कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न अध्यक्ष चुकेको संयोजकत्वमा ११ वटा उपसमितिहरू गठन गरिएको छ।

प्रतिकृया दिनुहोस