एउटा मन्दिर जहाँ रजस्वला भएको बेला पनि जान पाइन्छ

भारतको सर्वोच्च अदालतले एउटा निर्णय सुनाउँदै सबै उमेर समूहका महिलालाई केरलाको सबरीमाला मन्दिरमा प्रवेश दिन भनेपछि त्यसको विरोध भइरहेको छ ।

फैसलाको विरोधमा मन्दिर वरिपरि मानिसहरूले अझै धर्ना दिने क्रम जारी छ । शुक्रवार कडा सुरक्षाबीच दुईजना महिलाले उक्त मन्दिरमा प्रवेश गर्ने प्रयत्न गरे पनि विरोधका कारण उनीहरू छिर्न पाएनन् ।

सो मन्दिरमा १० देखि ५० वर्ष उमेरसम्मका महिलालाई प्रवेश निषेध थियो जुन नियमलाई सर्वोच्च अदालतमा चुनौती दिइयो ।

भेदभाव
सबरीमाला बारेको विवाद दिनप्रतिदिन बढ्दो छ । तर भारतमा एउटा यस्तो मन्दिर पनि छ जसले महिलालाई रजस्वलाका बेला पनि प्रवेश दिने गरेको छ ।

त्यहाँ त्यस्ता महिलालाई कुनै भेदभाव गरिँदैन । तमिलनाडुस्थित आदि पराशक्ति मन्दिरमा महिलाहरू विना कुनै रोकटोक पवित्र स्थानसम्म जान पाउँछन् र दशकौँदेखि उनीहरूलाई त्यसको अनुमति छ । महिलाको रजस्वलालाई सो मन्दिरले अपवित्र मान्दैन, एउटा सामान्य शारीरिक परिवर्तन ठान्दछ ।

स्थापना र लोकप्रियता
दक्षिण भारतका अधिकांश मन्दिरको भन्दा विपरीत यो मन्दिरमा पुजारी पनि हुँदैनन् । मन्दिरका जनसम्पर्क अधिकारी रविचन्द्रन भन्छन्, "पुरुष सरह महिलाहरू पनि यो मन्दिरको पवित्र गर्भसम्म जान पाउँछन् र पूजा गर्न पाउँछन् । यहाँ जाति, धर्म, लिङ्ग र उमेरको कुनै अर्थ हुँदैन ।"

मन्दिर

केही दशकअघि चेन्नइ-विल्लुपुरम राजमार्ग नजिकै पर्ने मरुवथुर गाउँस्थित एउटा विद्यालयका शिक्षक बंगारुले एउटा नीमको रुखबाट दूध निस्कँदै गरेको देखेको बताए ।

उनले त्यस्तो दावी गरेको केही दिनपछि ठूलो आँधी आउँदा रुख ढल्यो । अनि बंगारुले त्यहाँ स्वयम्भू लिङ्गम प्रकट भएको बताए । त्यसपछि उनले आफूलाई 'शक्ति' भन्न थाले र पहिला नीमको रुख भएकै स्थानमा पराशक्ति मन्दिरको निर्माण गराए ।

सो मन्दिरमा आदि पराशक्तिको मूर्ति स्थापना गरियो । बंगारुले बिस्तारै मानिसहरूलाई उपदेश पनि दिन थाले । बिस्तारै उनको लोकप्रियता बढ्दै गयो र तमिलनाडु र आसपासका राज्यबाट पनि मानिसहरू उनका कुरा सुन्न आउन थाले । मन्दिरको दायरा बढ्दै गयो र मन्दिरका नाममा कैयौँ सामाजिक तथा शैक्षिक संस्था खोलिए ।

गुठी सञ्चालन
मन्दिरको गुठीले गाउँमा एउटा मेडिकल कलेज पनि चलाउँछ, जहाँ टाढा-टाढाबाट विद्यार्थी पढ्न आउँछन् । आदि पराशक्ति मन्दिरसँग जोडिएका गुठी पूरै तमिलनाडु र आसपासका राज्यमा पनि सञ्चालनमा छन् र त्यसका अधिकांश प्रमुख पदमा महिला छन् ।

मन्दिर

हुन त मन्दिरसँग सम्बद्ध संस्थाहरूसँग कैयौँ विवाद पनि जोडिएका छन् । करिब ३० वर्षसम्म मन्दिरमा पूजा गरेकी मीनाकुमारी कनकराज पहिलो पटक मन्दिरमा प्रवेश गरेको क्षण यसरी सम्झिन्छिन् ।

"त्यो अनुभूतिलाई म शब्दमा वर्णन गर्न सक्दिनँ । मन्दिरको गर्भसम्म जान पाउने र पूजा गर्न पाउने अनुमति मलाई दिइयो । मेरो खुशीको सीमा थिएन ।" सो मन्दिरमा लैङ्गिक मात्र नभइ जातीय समानता पनि रहेको उनी बताउँछिन् ।

"हाम्रो प्रार्थना सभाका सदस्यमा प्राध्यापकदेखि फोहोर फाल्ने र कपडा धुने महिलासम्म छन् । ती सबैले मन्दिरको पवित्र स्थानसम्म पहुँच पाउँछन् ।" - बीबीसी

प्रतिकृया दिनुहोस