कर्णाली घुम्ने पर्यटक बढ्दै

सुर्खेत : पर्यटकका लागि कर्णाली उत्कृष्ट गन्तव्य बन्न थालेको छ । पछिल्लो समय कर्णालीमा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि हुनुले पनि यसको संकेत गरेको हो । तथ्यांकअनुसार कर्णालीमा घुम्न आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको छ । अर्थात् ६ महिनाको अवधिमा कर्णालीमा स्वदेशी तथा विदेशी गरी साढे ५ लाख पर्यटक भित्रिएका छन् ।
पर्यटकीय क्षेत्रहरूको प्रचार, भौतिक पूर्वाधारमा सुधार, सडकको सहज पहुँच र सुविधायुक्त होटल उपलब्ध हुन थालेपछि कर्णालीमा पर्यटकको आवागमन बढेको हो । कर्णालीमा देशको सबैभन्दा ठूलो राराताल, ऐतिहासिक, काँक्रेविहार मन्दिर, पञ्चकोशी क्षेत्र, शे–फोक्सुण्डो ताल, कुपिण्डे र बुलबुले ताल, पचालझरना, सिन्जा सभ्यता र ऐतिहासिक दरबार तथा देवलहरू छन् । यी पर्यटकीय क्षेत्रहरूको अवलोकनका लागि पर्यटकहरू आउन थालेका हुन् । यस्तै कर्णालीबाटै तिब्बतमा रहेको धार्मिक महत्वको मानसरोवर दर्शन गर्न सकिने भएकाले पनि पर्यटकको आकर्षण बढेको हो ।
कर्णालीमा पर्यटनको विकास र पर्यटकको आवागमनबारे नेपाल राष्ट्र बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले अध्ययन गरेको थियो । सोही अध्ययनको प्रतिवेदनअनुसार कर्णालीमा विगतको तुलनामा पर्यटकको आवागमन उत्साहजन देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो सयम कर्णालीमा घुम्न आउने पर्यटकको संख्यामा ११ प्रतिशतले वृद्धि भएको देखाएको छ । गएको आर्थिक वर्षको ६ महिनाको अवधिमा कर्णालीमा साढे ५ लाख पर्यटक भित्रिएका छन् । राष्ट्र बैंकका अनुसार बितेको आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा मात्र कर्णालीमा ५ लाख ७९ हजार ९ सय ४३ जना पर्यटक भित्रिएका छन् । प्रदेशस्थित नमुना छनोटमा परेका होटलबाट प्राप्त तथ्यांकको आधारमा समग्र कर्णाली प्रदेशको होटल तथा पर्यटन व्यवसायको अवस्था विश्लेषण गरिएको राष्ट्र बैंकले जनाएको छ ।
कर्णालीमा भारतबाट १२ दशमलव ८२, चीनबाट ३ दशमलव ६९ र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यो अवधिमा समग्रमा कर्णालीमा पर्यटक आगमन ११ दशमलव ०९ प्रतिशतले वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ को यही अवधिमा ८ दशमलव ६४ प्रतिशतले वृद्धि भएको भारतीय पर्यटकको संख्या आर्थिक वर्ष २०८१/०८२ मा १२ दशमलव ८२ प्रतिशतले वृद्धि भएको छ । यस्तै आर्थिक वर्ष २०८०/०८१ मा चिनियाँ पर्यटकको संख्या १४ दशमलव ४० प्रतिशतले वृद्धि भएको वितेको आर्थिक वर्षको सोही अवधिमा तीन दशमलव ६९ प्रतिशतले वृृद्धि भएको तथ्यांकमा उल्लेख छ । यस्तै कर्णालीमा तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या १३ दशमलव ३४ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय कर्णाली आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बन्दै गएको छ । यद्यपि कर्णालीमा आउने पर्यटकको बसाइ दर बढाउन थप योजना बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । पर्यटन व्यवसायको अत्यधिक सम्भावना भएको कर्णालीमा सहज हवाईसेवा तथा सडक यातायात, पर्यटकीय होटल तथा होमस्टेलगायत मनोरञ्जनात्मक क्रियाकलापको थप व्यवस्थापन गर्न सकेमा पर्यटकको औसत बसाइदर बढाउन सकिने सुझाव राष्ट्र बैंकले दिएको छ । यस्तै प्राथमिकताका साथ संघीय एवं प्रादेशिक स्तरका नीति तथा कार्यविधिमार्फत पर्यटन विकासमा लगानी गर्न सकेमा कर्णालीवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्न सकिने सम्भावना रहेको नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतको निस्कर्ष छ ।
पर्यटकको आवागमन बढ्न थालेपछि कर्णाली प्रदेश सरकारले पनि यहाँको पर्यटन प्रवद्र्धन र विकासलाई प्राथमिकतामा राखिएको जनाएको छ । जसअन्तर्गत प्रदेश सरकारले कर्णालीको पर्यटन प्रवद्र्धन र विकासमा काम गर्नका लागि पर्यटन प्रवद्र्धन विकास समिति स्थापना गरेको छ । पर्यटन प्रवद्र्धन विकास समितिका सदस्य भानुभक्त खड्काले कर्णालीका पर्यटकीय गन्तव्यको खोजी गर्दै प्रचारप्रसारको कार्यलाई व्यापक बनाइने बताए ।
पहिचान भएका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउने सूचना बोर्डदेखि पर्यटन सर्किटको अवधारणामा काम गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ बाट कर्णालीको पर्यटन प्रवद्र्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिएको छ । यस्तै, पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवालगायतको जानकारी दिन गन्तव्य कर्णाली एप सञ्चालनमा ल्याउने तयारी प्रदेश सरकारको छ ।https://annapurnapost.com/story/482565
पहिचान भएका १० वटै जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउने सूचना बोर्डदेखि पर्यटन सर्किटको अवधारणामा काम गर्न लागिएको उनले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ बाट कर्णालीको पर्यटन प्रवद्र्धन गर्न ‘संसारको गन्तव्य नेपाल, नेपालको गन्तव्य कर्णाली’ सोचका साथ दिगो पूर्वाधार तथा गुणस्तरीय पर्यटन सेवाको विकासमा जोड दिएको छ । यस्तै, पर्यटकलाई पर्यटकीय क्षेत्र र सेवालगायतको जानकारी दिन गन्तव्य कर्णाली एप सञ्चालनमा ल्याउने तयारी प्रदेश सरकारको छ ।https://annapurnapost.com/story/482565
प्रतिकृया दिनुहोस