समाज धनुषाको चित्रपुरमा तेस्रो आँप मेला सुरु
धनुषा : धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा तेस्रो आँप मेला सुरु भएको छ। स्थानीय स्तरमा उत्पादित आँपको प्रवर्द्धन, बजारीकरण तथा कृषि पर्यटन विकास गर्ने उद्देश्यले आयोजित उक्त मेलाको शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गरेका हुन्।
चित्रपुर म्याङ्गो एग्रो टुरिजम इनिसिएटिभको आयोजनामा सुरु भएको मेलामा विभिन्न जातका आँप तथा आँपबाट बनेका परिकारहरू प्रदर्शनमा राखिएका छन्। चित्रपुर क्षेत्र मधेशकै प्रमुख आँप उत्पादन केन्द्रमध्ये एक मानिन्छ। करिब ३०० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको आँप बगैँचालाई कृषि पर्यटनसँग जोड्ने लक्ष्यसहित मेला आयोजना गरिएको हो।
मेलामा आउने आगन्तुकलाई निःशुल्क आँप चाख्ने, बगैँचा अवलोकन गर्ने, रुखबाटै आँप टिप्ने अनुभव लिने तथा विभिन्न जातका आँपबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गरिएको चित्रपुर म्याङ्गो एग्रो टुरिजम इनिसिएटिभका अध्यक्ष प्रदीप कुमार महतोले जानकारी दिए। उनका अनुसार आँपबाट बनेका अचार, जुस, अमोट, आमिल लगायतका परिकार पनि मेलामा प्रदर्शनीमा राखिएका छन्।चित्रपुरलाई ‘आँप पर्यटन गन्तव्य’का रूपमा विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको तीन दिवसीय मेला आइतबारसम्म सञ्चालन हुनेछ। शुक्रबार मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम प्रसाद पटेल, श्रम तथा यातायात मन्त्री शारदा देवी थापा लगायतले मेलाको अवलोकन गरेका छन्। https://annapurnapost.com/story/502077/









प्रतिकृया दिनुहोस