आज महाशिवरात्री पर्व>शिवालयहरुमा दशनार्थीहरुको घुइचो

आज महाशिवरात्री पर्व देश भरी नै श्रद्धालुहरुले शिव भगवानको आरधाना गरि मनाएका छन् । महाशिवरात्रीका अवसरमा हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । 

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।महाशिवरात्रीका दिन शिवलिङ्गमाथि जल, दूध, बेलपत्र र भांग चढाउने धार्मिक प्रचलन छ । शिवलिङ्गमा दूधसहित भांग चढाउने भक्तमाथि शिवको विशेष कृपा रहने र मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

महाशिवरात्रिसँग संबधित थुप्रै पौराणिक कथाहरू छन् ।

एउटा पौराणिक मान्यता अनुसार महाशिवरात्रीको दिन अर्थात् फाल्गुन कृष्ण चतुर्दशीका दिन शिव भगवान प्रकट हुनु भएको थियो । यस मान्यता अनुसार शिव भगवान अग्नि ज्योतिर्लिङ्गको रुपमा प्रकट भएको विश्वास गरिन्छ । अग्नि ज्योतिर्लिङ्गको न सुरु न अन्त्य भएको कथामा उल्लेख गरिएको छ ।

यस कथा अनुसार अग्निको रुपमा प्रकट भएको ज्योतिर्लिङ्गबारे जान्नका लागि सृष्टिकर्चा ब्रम्हाले हाँसको रूप धारण गरेर ज्योतिर्लिङ्गको माथिल्लो भागसम्म जाने प्रयास गर्नु भयो । तर ब्रम्हा अगाडि बढ्न सक्नु भएन । यता सृष्टिका पालनकर्ता भगवान विष्णुले पनि बराहको रूप धारण गरी शिवलिङ्गको तल्लो भागसम्म जाने प्रयास गर्नुभयो तर उहाँ पनि असफल हुनुभयो ।

लयकालमा यसै दिन प्रदोषको समयमा भगवान शिव ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्दछन्। यसैकारण यस पर्वलाई महाशिवरात्रि अथवा कालरात्रि भनिन्छ। तीनै लोककी अपार सुन्दरी तथा शीलवती गौरीलाई अर्धाङ्गिनी बनाउने शिव प्रेत र पिशाचहरूबाट घेरिएर बस्ने गर्दछन्। उनको रूप बडो विचित्रको छ। शरीरमा मसानको भस्म, गलामा सर्पहरूको हार, कण्ठमा विष, जटाहरूमा जगत्-तारिणी पावन गङ्गा तथा मस्तकमा प्रलयङ्कर ज्वाला छ। साँढेलाई वाहनको रूपमा स्वीकार गर्ने शिव अमङ्गल रूपमा रहेर पनि भक्तहरूलाई मंगल प्रदान गर्दछन र श्रीसंपत्तिका दात मानिन्छन् ।

त्यस्तै अर्को मान्यता यस्तो छ- एक पल्ट पार्वतीले भगवान् शिवशङ्करसँग सोधिन्, ‘यस्तो कुन चाही श्रेष्ठ तथा सरल व्रत-पूजन छ, जसबाट मृत्युलोकका प्राणीले तपाईको कृपा सजिलै प्राप्त गर्दछन ?’ उत्तरमा शिवजीले पार्वतीलाई ‘शिवरात्रि’को व्रतको विधान बताएर यो कथा सुनाए- ‘एउटा गाँउमा एक शिकारी बस्तथ्यो। पशुहरूको हत्या गरेर ऊ आफ्ना कुटुम्बको पालनपोषण गर्थ्यो। ऊ एउटा साहूको ऋणी थियो, ऋण चुक्ता गर्ने प्रयास गर्दा पनि उसले त्यो ऋण चुकाउन सकेको थिएन। भाका नाघेपछि एक दिन क्रोधित साहूले शिकारीलाई शिवमठमा बन्दी बनायो । संयोगले त्यो दिन शिवरात्रि थियो।’

शिकारी ध्यानमग्न भएर शिव सम्बन्धी धार्मिक कुराहरू सुनिरह्यो। चतुर्दशीमा उसले शिवरात्रि व्रतको कथा पनि सुन्यो। कथा श्रवणको प्रभावले साँझपख साहूमा दयाभाव उत्पन्न भयो र उसले शिकारीलाई आफू नजीकै बोलाएर ऋण चुकाउने विषयमा कुरा गर्यो, शिकारीले भोलि पल्ट सारा ऋण चुक्ता गर्ने वचन दिएर बन्धनबाट छट्यो। आफ्नो सधैंको दिनचर्या सरह ऊ शिकारका लागि जङ्गल तर्फ गयो। ऊ दिनभर बन्दी गृहमा रहेका कारण भोक प्यासबाट व्याकुल थियो। एउटा तलाउको किनारमा बेलको रुख थियो, शिकारी शिकार गर्ने सिलसिलामा त्यसै रूखमाथि चढ्यो। बेलको रुखमुनि शिवलिंग स्थापना गरिएको थियो, विल्वपत्रहरूबाट ढाकिएको हुनाले शिकारीले त्यस कुराको पत्तो पाएन ।

रुखमा चढ्ने क्रममा उसका खुट्टाले जुनजुन हाँगामा टेकियो, ती हाँगा भाँचिदै गए र संयोगले ती हाँगा रुखमुनि स्थापित शिवलिङ्गमा झरे। यसरी दिनभरि भोकै-प्यासै बस्नाले शिकारीको व्रत पनि पूर्ण भयो। एक पहर रात बिते पछि एउटी गर्भिणी मृग पोखरीमा पानी खान आइपुगी । शिकारीले धनुषमा बाण चढाएर प्रत्यञ्चा तान्नासाथ मृगीणीले भनी, ‘म गर्भिणी छु। छिट्टै नै सुत्केरी हुनेछु। यतिबेला मेरो बध गर्दा तिमीले एकसाथ म र मेरा पेटमा भएका सबै जीवको हत्या गर्नेछौ, जुन उचित होइन। म बच्चा जन्मिउञ्जेल जीवनदानको याचना गर्दछु, सुत्केरी हुनासाथ म तिमीसमक्ष प्रस्तुत हुनेछु, त्यसबेला मेरो बध गर्नु!’ शिकारीले प्रत्यञ्चा खुकुलो बनायो र त्यस मृगिणीलाई मुक्त बनायो ।

केही बेरपछि एउटा अर्को पोथी मृग पुनः तालाउमा देखा पर्यो। शिकारीको प्रसन्नताको ठेगान भएन। नजीकै आएपछि उसले धनुषमा बाण चढायो। तब उसलाई बाण हान्न ठिक्क परेको देखेर मृगीणीले विनम्रतापूर्वक निवेदन गरी, ‘हे शिकारी! म केही समय पहिले ऋतुबाट निवृत्त भएकी छु। यत्तिबेला कामातुर र विरहिणी हुँदै आफ्नो प्रियको खोजीमा भौंतारिदै छु। म आफ्नो पतिसँग भेट गरी समागम गरी कामनिवृत्त भएर चाँडै तिम्रा नजीक आउने छु।’ शिकारीले उसलाई पनि छाड्यो। दुईदुई पटक शिकारलाई गुमाएर उसको टाउको रन्कियो। उ चिंतामा डुब्यो।

रातको अन्तिम पहर बित्यो। त्यसवेला एउटी अर्की मृगिणी आफ्ना बच्चाहरूसँगै त्यही ठाउँमा आइपुगी। शिकारीका लागि यो स्वर्णिम अवसर थियो। उसले धनुषमा बाण चढाउन ढिलो गरेन । उसले अस्त्र प्रयोग गर्नै आँटेको मात्र के थियो, त्यस मृगले पनि अनुरोध गरी, ‘हे शिकारी!’ म यी बच्चाहरूलाई यिनका पिताको जिम्मा लगाएर फर्की आउने छु, त्यसैले अहिले मलाई नमार। शिकारी हाँस्यो र भन्न थाल्यो, आँफू अगाडि आएको शिकारलाई म कसरी छाडौं, म मूर्ख त हैन नि! यसभन्दा पहिले नै मैले दुईपल्ट आफ्नो शिकार गुमाइसकेको छु। मेरा बच्चाहरू भोक र प्यासले घरमा छटपटिंदै होलान् म चाँहि हातमा आएको शिकार त्याग्दै बस्दै गरेको छु। उत्तरमा मृगिणीले फेरि पनि अनुरोधात्मक स्वरमा भनी, तिमीलाई जसरी आफ्ना बालबच्चाको ममताले सताउँदै छ, ठीक त्यस्तै अवस्था हो मेरो पनि। त्यसैले केवल बालबच्चाका निमित्त केही बेरका लागि जीवनदानको याचना गर्दछु। हे मनुष्य! मेरो विश्वास गर, म यिनलाई यिनका पिताका जिम्मा लगाएर तुरुन्त फर्कने प्रतिज्ञा गर्दछु। मृगको दीन वचन सुनेर शिकारीलाई त्यसमाथि पनि दया पलायो। उसले त्यो शिकार पनि त्याग गर्यो ।

शिकारको अभावमा बेल वृक्षमा बसेको शिकारी दिक्क मान्दै बेलपत्र चुँड्दै फ्याल्दै गर्न थाल्यो। अब उज्यालोका किरण पूर्वीय क्षितिजमा देखिन थाले, त्यति बेला एउटा हृष्टपुष्ट मृग त्यसै पोखरीको किनारमा आइपुग्यो। शिकारीले यसको शिकार चाँहि अवश्य गर्नुपर्ने विचार गर्यो। शिकारीले हान्न ठिक बनाएको प्रत्यञ्चा देखेर मृगले विनीत स्वरमा अनुरोध गर्यो, हे शिकारी भाइ! यदि तिमीले मभन्दा पूर्व आएका तीनवटा पोथीमृग र ससाना बच्चालाई मारेका छौ भने मलाई पनि मार, यस पुनीत कार्यमा विलम्ब नगर, किनकि मलाई तिनीहरूको वियोगमा एक क्षण पनि बाँच्न रहर छैन। म ती मृगिणीहरूको पति हूँ। यदि तिमीले तिनलाई जीवनदान दिएका छौ भने मलाई पनि केही क्षणका निमित्त जीवन दिने कृपा गर। म तिनीहरूसँग भेट गरी तिम्रा सामु उपस्थित हुनेछु। मृगका कुरा सुनेपछि शिकारी सम्मुख पूरा रातको घटनाचक्र घूम्यो, उसले सारा कथा मृगलाई सुनायो। तब मृगले भन्यो, ‘मेरी तीनवटै पत्नी जसरी प्रतिज्ञाबद्ध भएर गएका छन्, मेरो मृत्युले तिनीहरूले आफ्नो वचनको पालना गर्न पाउने छैनन्, किनकि मेरो अनुपस्थितिमा तिनीहरूको कार्य सम्पन्न हुनेछैन। अतः जसरी तिमीले उनलाई विश्वासपात्र मानेर छाडेका छौ, त्यसैगरी मलाई पनि जानदेऊ। म उनीहरू सबैलाई साथमा लिएर तिम्रा अगाडि शीघ्र नै उपस्थित हुन्छु।’

जानीनजानी उपवास, रात्रि-जागरण तथा शिवलिङ्गमा बेलपत्र चढाएका कारण शिकारीको हिंसक हृदय निर्मल भएको थियो। उनमा भगवद्शक्तिले निवास गरेको थियो। धनुष तथा बाण उनको हातबाट सहजै छूट्न पुग्यो। भगवान् शिवको अनुकम्पाले उसको हिंस्रक हृदय कारुणिक भाव विभोर भयो। त्यसले आफ्ना अतीतका कर्मलाई सम्झना गरी आँफू पश्चातापको ज्वालामा बल्न लाग्यो। केहीबेरपछि त्यो मृग सपरिवार शिकारीसमक्ष उपस्थित भयो। जंगली पशुहरूको यस्तो सत्यता, सात्विकता एवं सामूहिक प्रेमभावना देखेर शिकारीलाई ठूलो ग्लानि भयो। उसका आँखाबाट आंसुको वर्षा हुन थाल्यो। उसले मृग परिवारलाई नमारेर आफ्नो कठोर हृदयलाई जीव हिंसाबाट हटाई सदाका लागि कोमल एवं दयालु बन्यो। देवलोकबाट समस्त देव समाज पनि यस घटनालाई नियाल्दै थिए। घटना परिणतिमा पुग्नासाथ देवीदेवताले पुष्पवर्षा गरे। शिकारी तथा मृगपरिवारलाई मोक्ष प्राप्ति भयो’।

चतुर्दशी तिथिका स्वामी शिव हुन्। अत: ज्योतिषशास्त्रमा यस तिथिलाई परम शुभफलदायी तिथि भनिएको छ। त्यसो त शिवरात्रि प्रत्येक महीनाको चतुर्दशीका दिन पर्दछ। तर फाल्गुन कृष्ण चतुर्दशीलाई सबै शिवरात्रिमध्ये विशेष भएकाले महाशिवरात्रि भनिएको हो। ज्योतिषीय गणना अनुसार सूर्यदेव पनि यस समयसम्म उत्तरायणमा आइसकेका हुन्छन् तथा ऋतु परिवर्तनको यो समय अत्यन्त शुभ मानिन्छ। शिवको अर्थ हो कल्याण। शिव सबैको कल्याण गर्ने देवता हुन्। अत: महाशिवरात्रिमा सरल उपाय गर्दा मत्र पनि इच्छित सुखको प्राप्ति हुन्छ ।

ज्योतिषीय गणितको अनुसार चतुर्दशी तिथिमा चंद्रमा अफ्नो क्षीणस्थ अवस्थामा पुग्दछ। त्यस कारण बलहीन चंद्रमा सृष्टिलाई ऊर्जा प्रदान गर्न असमर्थ हुन्छन्। चंद्रमाको सीधा सम्बन्ध मनसग हुन्छ। अब मन: कमजोर हुदा भौतिक सन्तापले प्राणीलाई घेर्दछ तथा विषादको स्थिति उत्पन्न हुदछ । जसबाट कष्टहरूको सामना गर्नु पर्दछ। चंद्रमा शिवको मस्तकमा सुशोभित छन्। अत: चंद्रदेवको कृपा प्राप्त गर्न भगवान शिवको आश्रय किने गरिन्छ। महाशिवरात्रि शिवको प्रिय तिथि हो। अत: प्राय: ज्योतिषीहरू शिवरात्रिका दिन शिवको आराधना गरेर कष्टहरूबाट मुक्ति पाउन सुझाव दिन्छन्। शिव आदि-अनादि हुन। सृष्टिको विनाश वा पुन:स्थापनको बीचको मुख्य कडी हो प्रलय अर्थात कष्ट, पुन:स्थापन अर्यात सुख। अत: ज्योतिषमा शिवलाई सुखको आधार मानेर महाशिवरात्रिमा अनेक किसिमका अनुष्ठान गर्ने महत्ता दर्शाइएको छ ।(स्रोतः विकिपिडिया)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोटिहोम एकैसाथ १ हजार ८ कन्याको पुजन गरिदै

भरतपुर । योगी नरहरिनाथ आश्रम, वागीश्वरीमा जारी कोटिहोम महायज्ञमा भोलि (शनिबार) एक हजार भन्दा बढी ...